राजनीति

बर्दिया काँग्रेस जिल्ला कार्य समितिमा देउवाको प्यानल विजयी

नेपाली काँग्रेस जिल्ला कार्य समितिमा देउवाको प्यानल विजयी भएको छ। जिल्ला सभापतिमा अरुण प्रकाश सिंह राठोर विजयी भएका हुन्। सोमबार जिल्ला कार्य समितिको लागि भएको निर्वाचनमा राठोरलगायत उनको पुरै प्यानल विजयी भएको छ। राठोर देउवा पक्षका हुन्। 

बर्दिया क्षेत्र नम्बर १ मा पौडेल पक्ष बलियो देखिए पनि पुरै प्यानल पराजय भोग्नु पर्‍यो। निर्वाचनमा दुवै पक्षबीच कडा प्रतिस्पर्धा देखिएको थियो। राठोरले ८ सय ७० मतप्राप्त गरेका छन् भने उनका पतिस्पर्धी भुवनेश्वर चौधरीले ६ सय ७८ मतप्राप्त गरेका छन्। चौधरी भन्दा १ सय ९२ मत बढी प्राप्त गरी राठोर विजय भएका हुन्। पराजय भोगेका चौधरी नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश सांसद हुन्। 

जिल्ला कार्य समितिको निर्वाचनमा १ हजार ६ सय २५ मतदाता मध्ये १ हजार ५ सय७८ मतदाताले मतदान गरेका छन् भने ४७मतदाताले मतदान गरेनन्। नवनिर्वाचित जिल्ला सभापति राठोरले दुवै पक्षलाई एक ढिक्का बनाएर अगाडि बढ्ने बताए। ‘नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा पक्ष विपक्ष भई प्रतिस्पर्धा गर्‍यौ’ राठोरले भने, ‘अब पक्ष विपक्षमा विभाजित नभई सिङ्गो नेपाली काँग्रेस पार्टीका हौं।’ जिल्लामा दुवै पक्षका साथीहरुलाई एकबद्ध बनाई बर्दियालाई नेपाली काँग्रेसमय बनाउने उनले बताए।

उप–सभापतिमा गोविन्द प्रसाद थारुले ८ सय ६०, सोदे विष्टले ८ सय ५९ मतप्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी तिलकबहादुर बुढाक्षेत्रीले ६ सय १४ र सुभाषकुमार पोखरेलले ६ सय मतल्याई पराजय भएका छन्। सचिवमा जग्गा प्रसाद पाण्डेले ८ सय २९, मिनराज चौधरी ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी दिपकराज तिमिल्सेना ६ सय ६३ र सुधांशु प्रकाश शर्मा (लालु) ६ सय ५३ मत ल्याई पराजय भएका छन्। सहसचिवमा तिलकराम लम्सालले ९ सय ५३ र मेक बहादुर गुरुङ्गले ८ सय ९२ मतप्राप्त गरी विजयी भएका छन् भने उनीहरुका प्रतिस्पर्धी बिनोद राययादवले ५ सय ७३ र युगपति पौडेलले ५ सय ७० मत ल्याई पराजय भएका छन्।

प्रकाशित: १४ मंसिर २०७८ १०:५३ मंगलबार

बर्दिया काँग्रेस जिल्ला कार्य समिति देउवाको प्यानल विजयी