राजनीति

काँग्रेसको वडा अधिवेशनमा सर्लाहीमा फेरि गोली चल्यो, इन्स्पेक्टरसहित पाँच घाइते

नेपाली काँग्रेसको वडा अधिवेशनमा सोमबार पनि गोली चलेको छ। सोमबार सर्लाहीको बलरा नगरपालिका ७ को वडा अधिवेशन चलिरहेको समयमा नेतृत्व चयनका लागि भइरहेको मतदानको क्रममा दुई पक्षबीच झडप भई गोली चलेको हो।

प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी भएपछि प्रदेश मन्त्री बनेका वीरेन्द्र सिंहको पक्ष र नेपाली काँग्रेसका संघीय सांसद रहेका डा. अमरेशकुमार सिंहको पक्षबीच सर्लाहीमा निरन्तर विवाद हुँदै आएको छ। वडाको अधिवेशन पनि कडा सुरक्षाको बीच सर्लाहीमा गर्नुपर्ने अवस्था आएको छ।

वडा अधिवेशनको क्रममा नेतृत्व चयनको लागि मतदान कार्य भइरहेको समयमा एक समूहले आएर आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै होहल्ला गर्न थालेपछि दुई पक्षबीच झडप भएको थियो। मतदान कार्यमा खटिएका मतदान अधिकृत उमेशचन्द्र झालाई नियन्त्रणमा लिएर बलजफ्ती निर्णय गराउन खोजेको आरोप अर्को पक्षको रहेको छ।

मतदान अधिकृत झालाई एक पक्षले नियन्त्रणमा लिएपछि प्रहरीले मतदान अधिकृत झालाई उद्धार गरेर प्रहरी कार्यालयमा सुरक्षित लैजान खोज्दा केही काँग्रेस कार्यकर्ताले ढुंगामुढा गरेका थिए। ढुंगामुढा प्रहारबाट मतदान अधिकृत झासहित प्रहरी निरीक्षक सुरेश ठाकुर, एक प्रहरी हवलदार, एक प्रहरी जवान र एक जना सर्वसाधारण घाइते भएका छन्।

अन्य केहीलाई पनि सामान्य चोटपटक लागेको छ। घाइते मध्ये उपचार गराउनु पर्ने अवस्थामा रहेकाहरुको सर्लाहीको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ। मतदान अधिकृत झाको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरीमाथि नै प्रहार हुन थालेको र स्थिति बिग्रन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको स्थानीयको भनाइ छ।

आइतबार पनि सर्लाहीको बलरामा भएको वडा अधिवेशनमा गोली चलेको थियो।

सर्लाहीको नेपाली काँग्रेसमा निकै कडा विवाद रहेको छ। सर्लाही काँग्रेसको विवादले निरन्तर उग्र रुप लिँदै आएको छ। यस अघि मलंगवामा भएको अधिवेशनमा पनि दुई पक्षबीच झडप भएको थियो।

प्रकाशित: १३ मंसिर २०७८ १३:२८ सोमबार

वडा अधिवेशन नेपाली कांग्रेस