राजनीति

जुम्ला काँग्रेस सभापतिमा कर्णबहादुर शाही

नेपाली काँग्रेस जुम्लाको सातौ अधिवेशनबाट कर्णबहादुर शाही सभापतिमा निर्वाचित भएका हुन। उनी प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा लडेका थिए। अधिवेशनको अन्तिम समयसम्म गरिएको सहमतिको सबै प्रयास असफल भएपछि काँग्रेस निर्वाचनमा होमिएको थियो। सभापतिमा निर्वाचित शाही सातौं अधिवेशनसम्मका जिल्ला सचिव हुन्।  

सभापतिमा निर्वाचित कर्णबहादुर शाहीले ४ सय ७४ मत प्राप्त गरेका छन्। उनका प्रतिश्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका दीपबहादुर शाही ४ सय ६९ मतका साथ पराजित भए। कर्णबहादुर शाहीले पाँच मतको अन्तरमा सभापतिमा जितेका हुन्। सभापति बाहेकका सबै पदमा पौडेल पक्षका नेताले जितेका छन्।  

जुम्लामा रहेका एक नगरपालिका सहित ८ स्थानीयतह मध्ये दुइवटा मात्र स्थानीयतहमा देउवा प्यानलको नेतृत्व आएको थियो। ६ स्थानीयतहमा पौडेल पक्षको वर्चश्व थियो। दुइवटा प्रदेश क्षेत्र मध्ये दुइवटै प्रदेश क्षेत्रमा पौडेल पक्षले एकलौटी जितेको थियो। तर जिल्ला सभापतिका लागि गरिएको निर्वाचनमा देउवा पक्षको सभापतिको उम्मेदवारले जित्दा जिल्ला भर हलचल भएको छ।

पौडेल पक्ष चुनाव सहजै जित्ने अनुमान गरिरहेको थियो। अधिकतम २० मतको अन्तरमा सभापतिमा जित्ने पौडेल पक्षको दाबी असफल भएको छ। पराजित दीपबहादुर शाही झण्डै दुई कार्यकाल जिल्ला सभापति चलाएको व्यक्ति हुन। यो संगै उनी तेस्रो कार्यकालका लागि चुनावमा होमिएका थिए।  

अल्पमतमा रहेको देउवा पक्षले सभापति जिते संगै दुई कार्यकाल सभापतिमा चलाएका दीपबहादुर शाहीको कार्य सम्पादनमा टिकाटिप्पणी हुन थालेका छन्। तल्ला सबै पदमा पौडेल पक्षले जित्नु तर सभापतिमा पराजय बेहोर्नुले कार्यकर्ता स्तरमा पराजित शाहीको सन्तोषजनक काम नभएको अनुमान लगाउन थालिएको छ।  

सभापति बाहेकका तल्लापदमा पौडेल पक्षको वर्चश्व रहेको छ। निर्वाचन अधिकृत अधिवक्ता हसिना प्रधानले सभापतिमा कर्णबहादुर शाही विजयी भएको बताइन्। जिल्लाभर पौडेल पक्षको वर्चश्व भएको बेला देउवा पक्षले सभापतिमा निर्वाचन जितेपछि काँग्रेस भित्रै नयाँ प्रकारको वहस सिर्जना भएको छ। काँग्रेस जुम्लाको निर्वाचनमा अधिकतम पैसाको चलखेल भएको पौडेल पक्षीय नेता कार्यकर्ताको आरोप छ। 

उपसभापतिमा पौडेल पक्षीय दिपक शाही र कार्मा बुढाले जितेका छन्। शाहीले ५ सय १६ र कार्मा बुढाले ४ सय ५७ मत प्राप्त गरेका हुन्। उपसभापति बुढा जिल्ला समन्वय समितिका उपप्रमुख तथा तत्कालिन काँग्रेस जिल्ला सचिव हुन्। उपसभापतिमा देउवा पक्षीय नन्दराम बुढा र मक्करबहादुर हमाल पराजित भएका छन। उनीहरुले क्रमश: ४ सय ५ र ३ सय ७६ मत प्राप्त गरे।

जिल्ला सचिवमा अर्जुनसिंह कठायत र लक्ष्मण शाहीले जितेका छन। कठायतले  ५१८ र  शाहीले ४५७ मत प्राप्त गरे। सचिव कठायतले सबैभन्दा बढि मत ल्याएका हुन्। देउवा पक्षबाट सचिवमा लडेका धनश्याम थापा र दानबहादुर बुढाले क्रमश ३ सय २९ र ३ सय ७० मत प्राप्त गरे। सचिवमा प्रतिश्पर्धा गरेका लक्ष्मण शाही र दानबहादुर  बुढा स्थानीयतहको निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवार बनेर पराजित बनेका थिए। अर्जुनसिंह कठायत चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष हुन्।  

सह सचिवमा पौडल पक्षका नन्दप्रसाद चौलागाइ र धनेन्द्र बोहोराले जितेका छन्। उनीहरुले क्रमश ५ सय र ४ सय ४८ मत प्राप्त गरे। उनीहरुका प्रतिद्धन्दी धनबहादुर रावतले ४१८ र नवराज देवकोटाले ३८७ मत प्राप्त गरेको निर्वाचन अधिकृत अधिवक्ता प्रधानले बताइन्।  

निर्वाचनमा कुल १ हजार १८ मत भएकोमा ९ सय १८ मत खसेको थियो। जसमध्ये ५ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ। जिल्ला कार्य समितिको मतगणना सकिएको र महाधिवेशन प्रतिनिधिको मतगणना केही बेर पछि सुरु हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७८ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App