राजनीति

प्रधानमन्त्री देउवासँग अमेरिकी मन्त्रीको भेट

नेपाल भ्रमणमा रहेका दुई उच्च अमेरिकी अधिकारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

बुधबार काठमाडौं आएका मध्य तथा दक्षिण एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र बिहीबार काठमाडौं आइपुगेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले बिहीबार साँझ प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटेका हुन्।

भेटमा दुई पक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको छ। नेपाल र अमेरिकाबीच लामो समयदेखिको मित्रता, सहयोग र दुईपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा छलफल भएको प्रधानमन्त्री देउवाले जानकारी दिएका छन्।

छलफलमा प्रधानमन्त्री देउवाले कोरोनाविरुद्धको खोप सहयोगका लागि अमेरिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए। भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले कोरोना महामारी, महामारीपछिको पुनःउत्थान, जलवायु परिवर्तनलगायतका क्षेत्रमा साझेदारी र अमेरिकी सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

उनीहरूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कार्यान्वयनमा भइरहेको ढिलाइबारे पनि चासो राखेका थिए। सहायक विदेशमन्त्री लुले बिहीबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेर फाइजर खोप केन्द्रको अवलोकनसमेत गरेका थिए। स्वास्थ्यमन्त्री विरोध खतिवडासँगै अस्पताल पुगेर उनले खोप सुरक्षित रहेको भन्दै खोप लगाउन प्रोत्साहन गरेका थिए। फाइजर खोप अमेरिकी कम्पनीको उत्पादन हो।

त्यस्तै उपसहायक विदेशमन्त्री केल्लीले युवा अगुवाहरूसँग भेट गरेकी छन्। त्यस क्रममा उनले लोकतन्त्रमा नागरिक सहभागिता तथा समावेशिता, मानवअधिकार र जलवायु परिवर्तनजस्ता नेपाल,अमेरिका र विश्वले नै सामना गरिरहेका चुनौतीको सामना गर्ने विषयमा विभिन्न विचार सुनेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

सहायक विदेशमन्त्री लुसहितका अधिकारीहरूले शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्का लगायतका उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम छ।

प्रकाशित: ३ मंसिर २०७८ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App