राजनीति

सत्ताको होइन, व्यवस्थाको चिन्ता गरौं: वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको नभएर व्यवस्थाको चिन्ता गर्न आग्रह गरेका छन्। ‘हामीले सत्ताको चिन्ता गर्ने होइन, व्यवस्थाको चिन्ता गरांै’, जिल्ला पार्टी सभापति उज्ज्वलप्रसाद बरालको आमाको निधनमा शोक व्यक्त गर्न सिन्धुलीको रानीबास आएका पौडेलले भने, ‘म सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिन्छु।’

अहिलेको व्यवस्थालाई स्थिर गर्न नसके राष्ट्र नै अस्थिर हुने भन्दै नेता पौडेलले व्यवस्था स्थिर गर्नकै लागि पार्टी बाहिर र भित्र रहेर आफूले लडाइँ गरिरहेको बताए।

काँग्रेसलाई लोकतन्त्रप्रति खरो रुपमा उत्रने स्वच्छ छविको बनाउन सके काँग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बन्ने बताउँदै उनले नेपालको लोकतन्त्रको रक्षा गर्ने र राष्ट्रियताको रक्षा गर्ने आधार नै काँग्रेस रहेको उल्लेख गरे।

पार्टी नेतृत्वमा पुस्तान्तरण भन्दा पनि रुपान्तरण आवश्यकता भएको उनले जनाए। उनले पार्टीको १४ औं महाधिवेशनले नेपाली काँग्रेसलाई सफलताको बाटोमा लैजाने दाबी गर्दै देशभर चुनाव समेत जित्ने बताए।

प्रकाशित: २९ कार्तिक २०७८ १३:१८ सोमबार

नेपाली कांग्रेस