राजनीति

असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय : नेपाली काँग्रेस

नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढिसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताए।

उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताए।  उनले पार्टीको पालिकास्तरीय अधिवेशन पछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रीय समितिले आवश्यकताअनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत जानकारी दिए।

प्रवक्ता शर्माले देशभरका नेपाली काँग्रेसका कार्यकर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गरे। उनले सर्वसम्मत रुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपील पनि गरेका थिए।

प्रकाशित: ६ आश्विन २०७८ १३:२१ बुधबार

नेपाली कांग्रेस नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा