राजनीति

नेकपा एकीकृत समाजवादीमा भक्त केसी

नेकपा (एस) इलामका अध्यक्ष भक्त केसी। तस्बिर: भीम/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)को इलाम जिल्ला कमिटी गठन भएको छ। एमाले जिल्ला कमिटीका पूर्वउपाध्यक्ष भक्त केसीको अध्यक्षतामा नयाँ दलको जिल्ला कमिटी गठन भएको हो।  

बुधबार आयोजित भेलाले जिल्ला कमिटी उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ। २ सय ५१ सदस्यीय कमिटी गठन गरिएको अध्यक्ष केसीले जानकारी दिए। ‘जिल्ला सचिवालय र अन्य कमिटी गठन गर्न बाँकी नै छ,’ उनले भने, ‘अब पार्टीले अन्य कमिटी पनि गठन गर्दैजानेछ।’  

जिल्ला उपाध्यक्ष केसीसहित केही सचिवालय सदस्य तथा पुराना नेता र जनप्रतिनिधि नेकपा (एस)मा खुलेका छन्। गत २२ गतेसम्म सूर्याेदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली र माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईसहित इलामका स्थानीय तहका ५८ जनप्रतिनिधिले नयाँ दल रोजेका थिए। पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले यसअघि नै नेकपा (एस) रोजिसकेका छन्। प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, प्रदेशसभा सदस्यद्वय रामबहादुर राना र काजीमान कागते भने एमालेमै छन्।  

गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि केसीकै संयोजकत्वमा जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समानान्तर कमिटी बनेको थियो। तर, समानान्तर कमिटीमा रहेर ओलीविरुद्ध आन्दोलन गरेका जिल्लाका पूर्वसांसदसहितका केही प्रभावशाली मानिने नेता एमाले नै विभाजन भएपछि भने नयाँ दलमा प्रवेश गरेनन्। जिल्लाका ओलीनिकट मानिने नेताहरू नयाँ दलमा प्रवेश गरेनन्, बरु पूर्वप्रधानमन्त्री खनालनिकटका नेताहरूले एमाले छाडेनन्।  

प्रकाशित: ३० भाद्र २०७८ ११:५४ बुधबार

नेकपा एकीकृत समाजवादीमा भक्त केसी