राजनीति

लुम्बिनी प्रदेश: विशिष्ट योगदान दिनेलाई पदक

लुम्बिनी प्रदेशभित्र समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिलाई प्रदेश सरकारले प्रदेश पदकबाट सुशोभित गर्ने भएको छ। प्रदेश पदक ऐन २०७६ को दफा ५ बमोजिम लुम्बिनीमा विशिष्ट योगदान दिनेलाई तीन प्रकारका ११ वटा पदकले सुशोभित गर्न लागेको हो।

संविधान दिवसका दिन घोषणा गरिने र प्रदेश स्थापना दिवस फागुन ३ गते वितरण गरिने पदक क, ख र ग गरी तीन प्रकारका विभाजन गरिएको छ। शान्ति स्थापना कार्यमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई बुद्धशान्ति पदक, संघीयता र गणतन्त्रको सुदृढीकरणका लागि तथा अन्य क्षेत्रमा उत्कृष्ट र उल्लेखनीय कार्य गरी जनस्तरमा लोकप्रिय रहेका जनप्रतिनिधि, समाजसेवी वा प्रदेश सरकारबाट नियुक्त भएका व्यक्तिलाई प्रदेश प्रमुख जनसेवा पदकबाट सुशोभित गरिने प्रदेश सरकारले जनाएको छ। 

‘प्रदेशको समृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वली दीप पदकबाट सम्मान गरिने छ,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी बाबुराम पन्थीले भने, ‘इमान्दारीपूर्वक, उत्कृष्ठ एवम् प्रशंसनीय कार्य गर्ने प्रदेश सरकारअन्तर्गतका कर्तव्यनिष्ठ कर्मचारीलाई प्रदेश सेवा समर्पण पदकले सम्मान गरिने छ।’ त्यस्तै देशको सुरक्षा तथा विपद्मा उद्दारको क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसापूर्ण कार्य गर्ने व्यक्तिलाई उजिरसिंह दीप पदक प्रदान गरिने उनले बताए।

समाज सेवा श्री पदक समाज सेवा, स्वास्थ्य, वातावरण, दीगो विकास, मानव अधिकार र समाज सुधारका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई दिइने छ। कृषि, श्रम, रोजगारी, भाषा, साहित्य, कला, संगीत, शिक्षा, खेलकुद र सूचना तथा सञ्चार विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुकरणीय कार्य गरेका व्यक्तिलाई प्रदेश रत्न पदकले सम्मान गरिने छ भने प्रदेशभित्र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई पुथाश्री शिखर पदकले दिइने छ।

महिला सशक्तिकरण र बालबालिकाको हक, हित र संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई प्रजापति गौतमी पदक, शैक्षिक क्षेत्रमा सर्वाेत्कृष्ट योगदान पुर्‍याएका विद्यालय, विश्वविद्यालय तथा तिनका शिक्षक एवम् पदाधिकारीलाई प्रदेश प्रज्ञा पदक र सामाजिक सद्भाव, सामाजिक सुधार र समानताका पक्षमा काम गरेका अभियन्ता तथा सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई दंगीशरण बलिहाङ पदकबाट सुशोभित गरिने प्रदेश सरकारले जनाएको छ।

प्रदेश प्रमुखबाट पदक पाउने व्यक्तिलाई प्रदेश स्थापना दिवसका दिन आयोजना गरिने पदक सुशोभन समारोहमा पदक प्रदान गरिने व्यवस्था छ। त्यस दिन हुन नसके प्रदेश स्थापना दिवसका दिन सुशोभन समारोहमा वितरण गरिने व्यवस्था ऐनमा गरिएको छ। संविधान दिनवसका अवसरमा घोषणा गरिने र प्रदेश स्थापना दिवस फागुन ३ गते उक्त पदकहरू प्रदान गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पन्थीले जनाए। गत वर्ष ५८ जनालाई पदक प्रदान गरिएको थियो। यस वर्ष भने विशिष्ट योगदानका आधारमा कतिजनालाई दिने भन्ने विषय छलफलमै रहेको उनको भनाइ छ।

प्रकाशित: २० भाद्र २०७८ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App