राजनीति

सभामुख सापकोटा राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडे : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताएका छन्। ‘अहिले सबभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो। अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षडयन्त्र गरेर, तिगड्म गरेर, स्वार्थहरुका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा चिन्ताको विषय होइन। त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भैहाल्छ।’

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाटमा अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको समेत बताए।  

उनले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताए। उनले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गर्दै भने, ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ। राजमार्गबाट सभामुख हिँड्न मान्दैनन्। बाटाबाट हिँड्न मान्दैनन्। कान्ला कान्ला, भिरभिर कुद्छन्। निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ, त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ। सम्मानित अदालतको कुरै नगरौँ। त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ। त्यही भइरहेको छ। हामी ती कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ। चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौँ। किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ।’

उनले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताए।

प्रकाशित: १५ भाद्र २०७८ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App