राजनीति

पूर्व प्रधानमन्त्री ओलीलाई 'मेन्टली डिसअर्डर' भनेकोप्रति नियमापत्ति

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर भनी भनिएको शब्दप्रति नियमापत्ति गरेका छ। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले पूर्व प्रधानमन्त्री ओली मेन्टली र फिजिकली ठिक नभएको अभिव्यक्ति दिएपछि प्रमुख सचेतक भट्टराईले नियमापत्ति गरेका हुन्।

उनले मेन्टली डिसअर्डर भन्ने अधिकार कसले दियो? भनी प्रश्न गर्दै मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसदलाई नसुहाउने अभिव्यक्तिहरु आफूहरुका लागि गम्भीर र आपत्तीजनक भएको बताए। उनले सो वत्तव्यलाई रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण समेत गरे।

उनले भने, ‘मैले नियम २६ बमोजिम नियमापत्ति गर्न खोजेको। भर्खरै बोल्ने प्रतिनिधिसभा सदस्यज्युले व्यक्तिप्रति इंगित मानसिकता खराब भएको, मेन्टली डिसअर्डर भएको जस्ता अभिव्यक्तिहरु पटकपटक दोहोर्याएर भन्नुभयो। म प्रश्न गर्न चाहन्छु। त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ? उहाँसंग के प्रमाण छ? के तथ्यका आधारमा उहाँले यो भन्दैै हुनुहुन्छ? सभामुख मार्फत म प्रश्न गर्न चाहन्छु प्रत्येक सदस्यले प्रत्येक सदस्यलाई यहाँ स्वास्थ्यको परीक्षणको बारेमा बताउन मिल्छ कि मिल्दैन? उहाँसँग आधार के छ? कसले प्रमाणित गरेको छ? त्यसकारण यो मर्यादित ठाउँमा, सम्मानित ठाउँमा, जनताको सार्वभौम सत्ताको प्रयोग हुने यो महत्वपूर्ण निकायमा अमर्यादित खालका र संसदलाई नसुहाउने अभिव्यक्तिहरु हाम्रो लागि गम्भीर आपत्तीजनक छ। र यो रेकर्डबाट हटाईयोस्। अन्यथा नेकपा एमाले यो कुरालाई कुनै हालतमा पनि सहँदैन भन्ने कुरा सभामुख मार्फत जानकारी गराउन चाहन्छु।’

प्रकाशित: २८ श्रावण २०७८ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App