राजनीति

चन्दननाथमा मेयर उपमेयर विवाद उत्कर्षमा

जुम्लाको चन्दननाथ नगरपालिकामा मेयर उपमेयरबीच आरोप प्रत्यारोप चलिरहेको छ। मेयर उपमेयरको विवादका कारण नगरपालिकाको कामकाज प्रभावित बनेको छ। उपमेयर अप्सरादेवी न्यौपाने तीन वर्ष सम्मको सार्वजनिक सुनुवाइ नगरेको, मनपरी रुपमा योजना छनौट गरेको, योजना अनुगमन नभइकन भुक्तानी हुने गरेको  र प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिइएको आरोप लगाउँछिन्।  

यता मेयर कान्तिका सेजुवाल सार्वजनिक सुनुवाई मेयर मात्रले गर्न नसक्ने बताउँछिन्। उनी कर्मचारीहरुले सार्वजनिक सुनुवाइ गर्नु पर्ने बताउँछिन्। योजना छनौट नगरकार्यपालिकामा छलफलबाटै हुने गरेको दाबी गर्दै नगरपालिका भित्रको कुनै पनि कामको बिषयमा चित्त नबुझेमा कार्यपालिका र नगरसभामा छलफल गरेर हल निकाल्नु पर्ने मेयर सेजुवालको भनाइ छ।  

सेजुवालले मेयर र उपमेयरका आ–आफ्नै जिम्मेवारी भएकोले विवाद गर्नुपर्ने कुनै कारण नभएको बताउँछिन्।  आफूहरुबीच संस्थागत रुपमा केही मत–मतान्तर रहेपनि व्यक्तिगत रुपमा कुनै विवाद नभएको बताइन्।  

'सबै मिलेर इतिहास रच्ने बेलामा किचलो रहेको भन्ने खालका समाचार आउँदा म अचम्मित छु,’ उनले भनिन्, ’नगरपालिका संस्कार र सभ्यता देखाउने् ठाउँ हो। कहाँबाट कस्ता खालका अभिव्यक्ति आइरहेका छन्, त्यो मलाइ पनि थाहा छैन।’ उनले आफूलाई व्यक्तिगत रुपमा लगाइएका सबै आरोपहरु झुटा भएको बताएकी छन्। उनले सामान्य विषयमा विवाद भएपनि सहमति र छलफलका माध्यमबाट समाधानको उपाय खोज्ने बताइन्।

’संस्थागत रुपमा देखिएका मत–मतान्तरमा नगरकार्यपालिका र सभामार्फत हल गर्न सकिन्छ। मेरो स्तरबाट कुनै विवाद देख्दिन। कहाँ विवाद छ? छलफल गरौँ। समाधानको उपाय खजौं,’ उनले भनिन्, ’नगरपालिकामा उठेको विषय संस्थागत र नीतिगत हो। विकास निर्माणमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकता र हातेमालो गरेर अघि बढौं।’

उपमेयर अप्सरादेवी न्यौपालेले पत्रकार सम्मेलन गरेर मेयर सेजुवालले करोडौंका आयोजना नियमविपरीत सफ्टवेयरमा ’इन्ट्री’ गराएको, आफूले योजना अनुगमन नगरे पनि भुक्तानी दिएको, सार्वजनिक सुनुवाइ नगरिएको, नगरसभासमेत मनोमानी ढंगबाट चलाएको  लगायतका आरोप लगाएकी थिइन्।

यता मेयर सेजुवालले भने बजेट, नीति तथा कार्यक्रम असार ३१ गते पारीत भइसकेको बताइन्। उनले उपमेयरले माग गरेजस्तो बजेटका लागि विशेष नगरसभा बस्न नसकिने भन्दै बहुमतले पारीत गरेको बजेट सबैको लागि मान्य हुनेमा जोड दिइन्। उनले भनिन्,‘योजना तर्जुमा देखि बजेट निर्धारण गर्दाखेरीको नगरकार्यपालिका बैठकमा बोलाउँदा नआएपछि बाध्य भएर बजेट बहुमतले पारीत गर्नुपरेको थियो। ’

’नियम अनुसार असार १० गतेका दिन बोलाइएको नगरसभाको बैठकमा उपमेयरलगायतका नगरसभाका केही सदस्यहरु अनुपस्थित भएकाले असार ३१ गतेका दिन बहुमत सदस्यको उपस्थितमा नीति, कार्यक्रम र बजेट पारित गरिएको हो,’ उनले भनिन्, ’नगरसभाका कुल ५५ जना सदस्य रहेको मध्ये एक जनाको मृत्यु भइसकेको र दुइ जना जिल्ला समन्वय समितिमा गएको हुनाले बाँकी ५२ जना सदस्य छन्। जसमध्ये २९ जना सहभागि भएपछि  बजेट नीति तथा कार्यक्रम बहुमतले पारित भयो।’

उपमेयरले नगरसभा हुन नदिनको लागि भाजो हालेको हुनाले नगरपालिकालाई अनिर्णयको बन्दी हुनबाट रोक्न बहुमत सदस्यको उपस्थितमा विधि पूर्वक नीति, कार्यक्रम र बजेट पास गरिएको उनले बताइन्। उनका अनुसार नगरपालिका भित्रका कर्मचारीहरु कामविहिन भएका थिए। उनीहरुलाई काम जरुरी थियो। मेयर सेजुवालले गएको पुस २ गतेको दिन नगर कार्यपालिकाले गरेको निर्णय सुनाउँदै पाँच लाख रुपैयाँसम्मका योजनाहरुको अनुगमन वडाध्यक्षबाट गराउने र त्यो भन्दा माथीका योजनाहरुको अनुगमन नगरपालिकाबाट गर्ने सहमति भएको बताइन्।

’सार्वजनिक सुनुवाई मेयरले गर्ने होइन। म सार्वजनिक सुनुवाई गर्नबाट भागेको होइन,’ उनले भनिन्, ’यो काम कर्मचारीले गर्नुपर्छ। मैले कर्मचारीलाई सार्वजनिक सुनुवाई नगर्नको लागि रोकछेक गरेको हो भने कारबाही भोग्न तयार छु।’ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रवहादुर बुढाथापाले सार्वजनिक सुनुवाई गर्ने विषयमा छलफल भइरहेको बताए।

’प्रमुख प्रशाकीय अधिकृत फेरबदलले गर्दा भनेकै समयमा सार्वजनिक सुनुवाई हुन सेकेको छैन,’ उनले भने, ’ ’नगरपालिका भित्रको आन्तरिक विवाद र किचलोले गर्दा समग्र नगरपालिकाको विकासमा अवरोध भएको छ। एकले अर्कालाई हिलो छ्याप्ने र दोषारोपण गर्ने कार्यले नगरपालिका हित भएको छैन।’

मेयर सेजुवालले आरोपको लागि आरोप लगाउनु उपयुक्त नभएको भन्दै केका लागि रोइलो भएको हो, आफूलाई थाहा नभएको बताइन्। ’चित्त नबुझेको कुरा नगरसभामा आएर राख्नुपर्छ। नोटअफ डिसेन्ट लेख्न सकिन्छ। त्यो अधिकार सबैलाई छ। तर, नगरसभाका बहुमत सदस्यले गरेको निर्णय मान्दिन। नगरसभा भएको छैन। मनोपोली भयो लगायतका आरोपमा कुनै तुक छैन,’ उनले भनिन्।

चन्दननाथ नगरपालिका वडा न. ५ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अर्जुनसिंह कठायतले नगरपालिकालाई व्यक्तिगत हिसाबले संचालन गर्न खोजिए स्वीकार्य नहुने बताए। उपमेरले योजना अनुगमन गर्दा आफू निकटकाहरुको समयमै अनुगमन गरि भुक्तानिका लागि पहल गरेको र आफूनिकट नभएकाहरुको योजना अनुगमन नगर्ने गरेको आरोप लगाए।

’जनप्रतिनिधि पूर्वाग्राहि हुन मिल्दैन। उपमेयरले योजना अनुगमनमा विभेद गर्नु भएको छ। उपमेयरको मन नलागेको योजनामा अनुगमन हुँदैन,’ उनले भने, ’पत्रकार पनि पार्टीका मुख पत्र बनेका कारण सत्यतथ्य कुरा बाहिर नआइ सतही कुरा मात्र आएको हो।’

नगरकार्यपालिकाले विकास निर्माणको रकममा मेयर र उपमेयरलाई ६०/४० को भाग लगाई दिनु गलत भएको कठायतले बताए। ’चुनाव जितेर आउनु भएका दुबै जनाले जनताका बीचमा गरेको बाचा पुरा गरुन भन्नको लागि नगरकार्यपालिकाको बैठकले ६०/४० को भाग लगाई दिएको हो। तर त्यही अहिले आएर घाँडो भएको छ,’ उनले भने।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष जगदिस चौलागाईले मेयर र उपमेयरले गर्दा नगरपालिका अनिर्णयको बन्दि भएको बताए। ’बहुमत सदस्यले गरेको निर्णय अवैधानिक भयो। मान्दैन भन्नु कतिको जायज छ?,’ उनले भने, ’यसमा चित्त दुखाई गर्नु पर्ने ठाउँ छैन्। केहि पत्रकारले व्यक्तिगत रुपमा रिसिबि साट्न खोजेका छन्।’

प्रकाशित: १८ श्रावण २०७८ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App