राजनीति

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै मोदीले देउवालाई टेलिफोन गर्नुका साथै सामाजिक सञ्जाल ट्विटरमार्फत पनि शुभकामना तथा बधाई दिएका हुन्। मोदीले दुई देशबीचको साझेदारी थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्ध मजबुत बनाउन देउवासँग मिलेर काम गर्न चाहेको बताएका छन्।

भारतका प्रधानमन्त्रीले नेपालमा प्रधानमन्त्री नियुक्त भएलगत्तै बधाई तथा शुभकामना दिँदै आए पनि यसपटक झन्डै एक साता ढिला गरी बधाई दिए। देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। नेपालका लागि भारतीय राजदूतले भने देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै उनकै निवास पुगेर बधाई दिएका थिए।  

भारतीय समकक्षीले नेपालमा प्रधानमन्त्री नियुक्त भएको करिब एक सातासम्म पनि प्रतिक्रिया नदिएपछि कतिपयले देउवा प्रधानमन्त्री भएका प्रति भारत सकारात्मक नभएको हो कि भन्ने हिसाबले पनि अथ्र्र्याएका थिए। नेपालमा हुने राजनीतिक र सत्ता परिवर्तनमा भारतको चासो रहँदै आएको छ।

प्रकाशित: ४ श्रावण २०७८ ०१:२३ सोमबार

प्रधानमन्त्री देउवा मोदीको शुभकामना