राजनीति

सत्ताको चाबी नेपालको हातमा

देउवालाई नसघाए संसद् पुनर्स्थापना निरर्थक

यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ। नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ। एमालेभित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ। यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन्। तर उनीहरू दुईजनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली झनै चिढिएका छन्।

बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनस्र्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो। हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरकार एक महिनामै ढल्ने र प्रतिनिधिसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ। त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन्। नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनाफानो हुनुपर्ने बताउँछन्।

यसैबीच ओलीले नेपाललाई पार्टीभित्र कुनै स्थान नभएको बताएपछि एमाले एकता थप अन्योलमा परेको छ। ओलीको सो अभिव्यक्तिलगत्तै देउवा नेपालनिवास पुगेका थिए। त्यसक्रममा उनले नेपालसँग विश्वासको मत मागेका थिए। नेपालले आफू निकटका सांसदलाई राखेर देउवालाई आश्वस्त पारेका थिए। देउवापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास पुगेर सरकार टिकाउने विषयमा छलफल गरेका छन्। तर यी भेटघाट ओलीलाई मन परेका छैनन्। माओवादी अध्यक्ष दाहाल नेपाल निवासमा गएको विषयलाई त ओलीले पार्टी एकता खलबल्याउने प्रयासका रूपमा समेत चित्रण गरेका छन् ।  

देउवाले चाँडै नै विश्वासको मत लिने तयारी गरेपछि एमाले संसदीय दलको नेतासमेत रहेका ओलीले संसदीय दलको बैठक बोलाएका छन्। ओलीले शुक्रबार ३ बजे बानेश्वरको लोत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन्। नेपाल पक्षका नेताले त्यसलाई सार्न प्रस्ताव गरेका छन्। उनीहरूबीच संसदीय दलको बैठकमा जाने–नजानेबारे निर्णय नभए पनि विरोध खतिवडा, मेटमणि चौधरीलगायतका सांसदले नजाने बताएका छन्। नेपाल पक्षका तर्फबाट एमाले एकता कार्यदलमा रहेका सबै नेताले शुक्रबारको संसदीय दलको बैठक केही दिन सार्न प्रस्ताव गरेका छन्। नेपाल पक्षबाट कार्यदलमा रहेका नेताको छलफलपछि उनीहरूले ओलीसमक्ष संसदीय दलको बैठक सार्न प्रस्ताव गरेका हुन्।

एमाले स्थायी कमिटी सदस्य एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत ओलीलाई संसदीय दलको बैठक सार्न प्रस्ताव गरेको बताए। उनले पार्टी बचाउन दोस्रो पुस्ता सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको पनि बताए। ‘पार्टी विवाद बढेको जस्तो आभास हुन्छ, हामी कार्यदलका केही साथीहरू बसेका थियौं, दोस्रो पुस्ताका साथीहरू सक्रिय  हुनुपर्‍यो नत्र पार्टी खत्तम हुन्छ भन्ने हाम्रो निष्कर्ष हो’, पाण्डेले भने।

कार्यदलमै रहेका अर्का सदस्य रघु पन्तले १० बुँदे सहमितमै टेकर अघि बढौं भन्ने प्रस्ताव गरिएको बताए । उनले माधव नेपाललाई पनि १० बुँदेमै टेकेर अघि बढौं भन्ने आफ्नो आग्रह रहेको स्पष्ट पारे। ‘१० बुँदे सहमतिमै अघि बढौं भनेका छौं। ओलीको बोलीले वातावरणचाहिँ केही बिग्रेकै हो तर सबै विषय त्यतामात्रै केन्द्रित छैन । अन्तिममा ओलीले मानेनन् भने मात्रै भोलि के गर्ने भन्ने बाटोमा लागौंला भनेका छौं’, पन्तले भने।

एमाले अध्यक्ष ओलीले भने शुक्रबार नै स्थायी कमिटी बैठक पनि बोलाएका छन्। सत्ताबाट बाहिरिएपछि पहिलो पटक उनले स्थायी कमिटी बैठक बोलाएका हुन्। यसअघि बस्न लागेका बैठक नेपाल पक्षका नेताको आग्रहमा रोकिएको थियो। शुक्रबार बस्ने भनिएको बैठकमा नेपाल पक्षका सबै नेतालाई खबर गरिएको छ। कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार शुत्रबारको बैठक अध्यक्ष र महासचिवको परामर्शमा बोलाइएको हो। एमाले विवाद समाधान कार्यदलमा भएको सहमतिमा यथाशीघ्र बैठक बोलाउने विषय उल्लेख छ। सोही बमोजिम बैठक बोलाइएको बताइए पनि नेपाल पक्षका नेता भीम रावलसहितका नेता बसेर अजेन्डा तय गर्ने बताइएको थियो। नेपाल पक्षले २०७५ जेठ २ अघिको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेको थियो। बैठक तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने भएको छ।

प्रकाशित: १ श्रावण २०७८ ०१:२३ शुक्रबार

शेरबहादुर देउवा