राजनीति

लुम्बिनी प्रदेशः राष्ट्रियसभाको उपनिर्वाचनमा २९७ मत खस्यो, तीन मतदाता अनुपस्थित

नतिजा आजै आउने

दाङको घोराहीमा भएको राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान सकिएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । प्रदेश र स्थानीय तहका गरी कुल ३ सय मतदाता मध्ये २९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रदेशसभा सदस्य तर्फ सतप्रतिशत अर्थात ८३ मत खसेको छ । स्थानीय तर्फको ११७ मतदाता संख्या मध्ये ११४ मत खसेको छ । स्थानीय तहका तीन जना अनुपस्थित रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ गणना हुन्छ । केही बेरमा मतगणना सुरु हुने र नतिजा पनि आजै आउने निर्वाचन कार्यालयले जनाएको छ ।  

स्थानीय तहका तीन जना अनुपस्थित

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलसम्शेर राणा, बाँकेकै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, र गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा सहभागी नभएको निर्वाचन कार्यालयले जनाएको हो ।  

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलसम्शेर राणाले आज बिहान सामाजिक सञ्जाल मार्फत निर्वाचनमा भाग नलिने जानकारी गराएका थिए । कोरोना १९ परास्त गर्न सामूहिक लडाइ लड्नु पर्ने बेला ठूला दलहरु सत्ता स्वार्थका लागि जुधेको भन्दै उनले मत हालेनन् । उनी राप्रपाका हुन् । नरैनापुरका अध्यक्ष शाह बिरामी परेर उपचारका लागि बाहिर रहेकाले निर्वाचनमा भाग लिन नसकेको गाउँपालिकाले जनाएको छ । शाह जसपाको उपेन्द्र यादव निकटका हुन् । 

गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष थापा पनि कोरोना संक्रमण भएर काठमाण्डौ स्थित एक अस्पतालमा उपचारत छन् । उनी नेपाली काँग्रेसका हुन् । 

प्रकाशित: १७ जेष्ठ २०७८ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App