वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान विघटनजस्तो निर्लज्ज काम गरेको बताएका छन्। सभामुख अग्नि सापकोटाले बिहीबार संसद भवन नयाँ वानेश्वरमा गरेको छलफलका क्रममा थापाले उक्त भनाई राखेका हुन्। ‘प्रधानमन्त्री र राष्ट्रपतिले संसदको अंकगणित हेरेर गरेको काम अति निर्लज्ज छ,’ भर्चुअल माध्यमबाट थापाले भने, ‘यो संविधानसभाले बनाएको संविधान हो यसलाई कसैले मार्न सक्दैन।’
संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफलको क्रममा अर्का कानुनविद् टिकाराम भट्टराईले लिखित संविधानको दायराभन्दा बाहिर कोही जान नमिल्ने बताए। ‘प्रतिनिधिसभा मरेको छैन, जिवित छ,’ उनले भने, 'संविधानभित्र रहेर सभामुखले आफ्नो अधिकार प्रयोग गर्न आवश्यक छ।’ कसैको लहड र सनकको भरमा विघटन हुन नसक्ने उनको भनाई थियो।
सोही कार्यक्रममा बरिष्ठ अधिबक्ता भिमार्जुन आचार्यले भने विघटन असंवैधानिक भएपनि प्रतिनीधिसभा पुनर्स्थापना नहुन्जेल सभामुखले केही गर्न नसक्ने जनाएका छन्। ‘कानुन र संविधानले अब सभामुखले गर्ने काम केही छैन’, उनले भने, ‘तर सभामुखले थुप्रै कुरा नोटिसमा लिन चाहि जरुरी छ।’
अर्का कानुनविद् तिर्थमान शाक्यले सभामुख इन्स्टीच्यूट हेडका रुपमा नभई सभामूख ‘एज ए पर्सन’को रुपमा रहेको भन्दै खासै केही गर्न जरुरी नभएको सुनाए।
कानुनविद् रमण श्रेष्ठले यस्तो बेलामा सभामुखले आफ्नो भूमिका निभाउनु पर्ने बताए। ‘प्रतिनिधि सभा विघटन भएको छैन,’ उनले भने, ‘सभामुखले सक्रियता देखाउनु पर्यो।’
प्रकाशित: १३ जेष्ठ २०७८ ०९:१२ बिहीबार