राजनीति

माओवादी केन्द्र समावेशी हुने, यसरी भयो कोटा बाँडफाँट

नेकपा (माओवादी केन्द्र) ले आफ्नो सबै समिति तत्काल समावेशी रुपमा गठन गर्ने भएको छ। जसमध्ये ३५ प्रतिशत महिला सहभागिता अनिवार्य छ भने १५ प्रतिशत दलित र २० प्रतिशत युवासहितको समावेशी कमिटी गठन गर्ने भएको हो।

पार्टीको स्थायी कमिटीको मंगलबार बसेको बैठकमा आसन्न केन्द्रीय समितिलाई समावेशी बनाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो प्रस्ताव गरेका हुन्। सो प्रस्तावलाई केन्द्रीय समितिको बैठकमा पेस गर्ने गरी पास समेत गरेको छ।  

दलित समुदायबाट केन्द्रीय समितिमा कम्तिमा १५ प्रतिशत र प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँ रहेको जनसंख्याको प्रतिशतमा २ प्रतिशत थपेर अनिवार्य प्रतिनिधित्व गराइने केन्द्रल् जनाएको छ। केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बनाइनेछ भने केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम बन्नेछ।

‘अध्यक्ष क.प्रचण्डको प्रस्तावमा महिला ३५%, दलित १५% र युवा २०% सहितको समावेशी कमिटी बनाउने निर्णय नेकपा (माओवादी केन्द्र) को आज बसेको स्थायी कमिटीको बैठकले गरेको छ । पार्टी निर्माणको लागी यो निर्णय दुरगामी महत्वको हुने छ।’ नेता जनार्दन शर्माले आफ्नो फेसबुकमा लेखेका छन्।

प्रकाशित: १४ वैशाख २०७८ १४:१८ मंगलबार

नेकपा माओवादी केन्द्र