राजनीति

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल पक्षीय भेला सकियो, ओलीविरुद्ध दृढताकासाथ लड्ने निष्कर्ष

एमालेको माधव कुमार नेपाल समूहले दुई दिने राष्ट्रिय भेलाको पहिलो दिन बुधबार सहभागी नेता-कार्यकर्ताहरू। तस्बिरः केशव थाेकर/नागरिक <div><br></div>

नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ। बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि भएको छलफलपछि आएका सुझावसमेत समेटेर १७ बुँदे प्रस्ताव पारित गरिएको हो।

यस्तै, भेलाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयसमेत अस्वीकार गरेको छ। सर्वोच्चको फैसलापछि ब्यूँतिएको एमाले ०७५ जेठ २ गतेको अवस्थामा फर्किएको र सोहीअनुसारका गतिविधि हुनुपर्ने नेपाल पक्षको माग छ।

ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर, पार्टीको विधान संशोधन र माओवादी केन्द्रबाट आएका २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। सो निर्णय खारेज हुनुपर्ने नेपाल पक्षको माग छ।

यस्तै, भेलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर असहमति जनाएको छ। निवेदकले माग नै नगरेको विषयमा प्रवेश गरेर अदालतले दलहरुको राजीतिक अधिकारमाथि हस्तक्षेप गरेको नेपाल पक्षको ठहर छ। भेलाले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको भने स्वागत गरहेको छ।

सर्वोच्चको फैसलापछि अहिले एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोसिस गरिरहेको भेलाको निष्कर्ष छ।  

फागुन ११ गते संसद् पुनःस्थापना गर्ने फैसला गरेको सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रबीचको एकताबाट बनेको नेकपालाई वैधता दिने निर्वाचना आयोगको निर्णय खारेज गरिदिएको थियो। सो फैसलापछि दुवै पार्टी अलग भएका थिए।

भेलाले प्रधानमन्त्री ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आव्हान पनि गरेको छ। अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ।

हिजो (बुधबार) सुरु भएर आज (बिहीबार) सकिएको भेलामा सातै प्रदेशका विभिन्न नेताहरुले पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारमा सुझाव दिएका थिए। यस्तै, समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका थिए। उनले आफूहरुले कुनैपनि हालतमा पार्टी विभाजन हुन नदिने भन्दै नेता कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरेका थिए।

प्रकाशित: ५ चैत्र २०७७ १२:५६ बिहीबार

एमाले विभाजन नेपाल पक्षीय भेला