राजनीति

सुरू हुन थाले मेला–महोत्सव

तेह्थुमको खाम्लालुङमा आयोजित फुटवल प्रतियोगिता तथा मेलाका लागि बनाइएका अस्थायी होटेल। तस्बिर: गिरिराज बाँस्कोटा/नागरिक

मंगलबार तेह्थुमको आठराई गाँउपालीका–२ खाम्लालुङमा सेउलाले बारेर धमाधम छाप्रो बनाउने काम भईरहेको थियो। यहाँ चित्रा र प्लाष्टिकले छाएर धमाधम अस्थायी होटल बन्दै थिए । यो ग्रामीण क्षेत्रमा खाम्लालुङ फुटवल उद्घाटन मेला तथा गजेन्द्र इस्वो स्मृति रनीङ फुटवल प्रतियोगितालाई लक्षित गरेर यी अस्थायी होटल बनाइएको हो।  आईतबारसम्म लाग्ने मेलाका लागि मेहनत गरेर आधा दर्जन भन्दा बढी अस्थायी होटल बनाइएका हुन् ।

कोरोना महामरी कारण रोकिएका मेला, उत्सव, खेलकुद गतिविधि तथा सास्कृतिक कार्यक्रम हुन थालेका छन् । कोरोनाको त्रास कम भएसँगै पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ, तेह्थुममा यस्ता उत्सव सुरु भएका हुन् । लामो समय कोरोनाका कारण थुनिएकाहरु मेला, उत्सवमा रौसिन थालेका छन् भने ग्रामिण क्षेत्रसम्म आर्थिक चहलपहल पनि बढेको पाईन्छ। यी क्षेत्रमा नयाँ वर्ष, साउने सक्रान्ती, दसैतिहार, चासोक, कक्फेवा तङ्नाम, ल्होसार, प्रजातन्त्र दिवस लगाएका अवसरमा मेला, महोत्सव तथा खेलकुद गतिविधि हुने गरेका छन् । कलाकार ल्याएर राति अवेरसम्म हुने कन्सर्टहरु पनि रोकिएका थिए । विभिन्न ठाँउमा निक्कै लामो समयदेखि आफ्नै विशेषता बोकेका मेलाहरु यो क्षेत्रमा भएको पाईन्छ ।

‘कोरोनाका कारण खेलकुद, मेला, महोत्सव हुन सकेको थिएन । कोरोनाको त्रास कम भएसँगै यस्ता गतिविधि विस्तार भएका छन् । आठराई गाँउपालीका–२ का वार्ड अध्यक्ष दिलकुमार पाइम भन्छन् ‘हामीले महिला तथा पुरुष फुटवल प्रतियोगिता तथा मेलाको आयोजना गरेका हौँ । वर्षेनी लाग्ने यस्ता मेला धेरै छन् ।’

कोरोना पछि मेला, उत्सव गर्न दिन थालेपछि पूर्वी पहाडमा सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधि बढ्दै गएका हुन् । सहर क्षेत्र भन्दा बढी  ग्रामीण क्षेत्रमा यस्ता गतिविधि हुने गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरुले यस्ता अवसरमा सहयोग गर्छन् । पछिल्लो वर्षमा स्थानीय सरकारले पनि सानो–सानो सहयोग गर्दै आएका छन् । कोराना कहरले रोकिएका यस्ता जमघट गर्नपाएसँगै पाँचथर सदरमुकाम फिदिममा दुई ठुला कन्सर्ट भईसकेका छन् । अरु कन्सर्टको पनि तयारी हुदै छन् ।

ग्रामिण क्षेत्रमा टोल स्तरी, वार्ड स्तरी तथा गाँउपालीका स्तरीय फुटवल लगायतका खेलकुद प्रतियोगिता हुन्छन् । फुटवल, भलिवल, व्याडमिन्टन प्रतियोगिता हुने गर्छन् । यसका अलवा मेलामा सांस्कृतिक कार्यक्रमको महत्व रहन्छ । ख्याति प्राप्त तथा स्थानीय कलाकार झिकाइन्छ । अचेल धान नाच भने कम देखिन्छ ।  जिल्लामा हुने मेला महत्वसमा विभिन्न ठाँउबाट जम्मा हुने गरेको पाईन्छ । ‘खेलकुद गतिविधि, मेलाले मनोरञ्जन दिनेमात्र हैन्, आर्थिक गतिविधि बढाउनुका साथै आन्तरिक पर्यटन पनि प्रर्वद्धन गर्छ’,  फिदिम स्पोर्टिङ क्लब पाँचथरका पूर्व अध्यक्ष किरण श्रेष्ठ भन्छन्, ‘कोभिडले सबै क्षेत्रमा असर पु¥याएको थियो, अब मेला, उत्सवहरु उठ्ने छन्।’

विभिन्न ठाँउमा मेला तथा खेलकुद गतिविधिका कार्यसूचि सार्वजनिक हुन थालेका छन् । भदौदेखि वैैशाखसम्म यस्ता गतिविधि भइहरन्छ । तर वर्षामा पनि मेलाहरु रहेका छन् । मेलामा स्थानीय स्तरमा होटल कारोबार बढ्ने तथा आर्थिक गतिविधि बढाउने गर्छ । ‘यो मेला तथा उत्सवहरु पहिचान समेत हुन । यो मेला वा यो खेलकुद गतिविधि यो सिजनमा यहाँ हुन्छ भनेर जानकारी राखिन्छ । धार्मिक, पर्यटकीय स्थल तथा सास्कृतिक सम्पदाको महत्व बढाउन सहयोग पुगेको छ’ पाँचथरको फालेलुङ–७ का धनकुमार लावती भन्छन् ‘कोरोना सहज भएसँगै उत्सवहरु सुरु भएका छन् । हामीले पनि हालै तुम्दङ मेला सम्पनौ गर्यौ ।’

यस्ता अवसरमा ग्रामिण क्षेत्रमा स्थानीय उत्पादनले प्राथमिकता पाउछ । सहर क्षेत्रमा भने आधुनिक परिकार प्राथमिकतामा पर्छन्।

प्रकाशित: १९ फाल्गुन २०७७ १३:०४ बुधबार