राजनीति

संविधान संशोधन र रेशम चौधरी रिहाई नभएसम्म सरकारमा जादैनौं : राजेन्द्र महतो

फाइल तस्बिरः नागरिक

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन र रेशम चौधरीको रिहाई ग्यारेन्टी नभएसम्म सरकारमा नजाने बताएका छन्। मंगलबार जसपा कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतोले आफूरुले अघि सारेका मागहरु पूरा नभएसम्म सरकारमा नजाने बताएका हुन्।  

‘केपी ओलीले ल्याएको प्रतिगमन त सकियो। तत्कालीन कांग्रेस, एमाले, माओवादी र विजय गच्छेदार समेत गरी चार पार्टी मिलेर गरेको प्रतिगमन खै सच्चिएको? गोली चलाएर संविधान बनाइयो, जनताको इच्छाविपरीत संविधान बनाइयो, खै सच्चिएको? त्यसको आन्दोलन गर्ने रेशम चौधरी जेलमै हुनुहुन्छ, कसरी हुन्छ सरकार हुन सक्दैैन। लक्ष्मण थारुमाथि मुद्दा चलेकै छ, कसरी हुन्छ हुन सक्दैन,’ नेता महतो भने, ‘जनता समाजवाद पार्टी मुद्दामा आधारित पार्टी हो। संविधान संशोधन, रेशम चौधरी रिहाई लयातका मुद्दा बाँकी छ। त्यो नभइकन कसरी सरकारको कुरा गर्ने? कसरी सरकारमा सहभागी हुने कुरा गर्ने?’

उनले अहिलेसम्म आफूहरुलाई अविश्वास प्रस्तावका बारेमा औपचारिक रुपमा जानकारी नआएको समेत बताए।

उनले नेपालमा अझै एउटा सशक्त आन्दोलनको आवश्यकता रहेको बताए। ‘हामीले विगतमा पनि सङ्घर्ष गर्‍यौं, आगामी दिनमा पनि हुन्छ। अबको सङ्घर्ष थारुले छुट्टै गर्ने, मधेशले छुट्टै गर्ने, आदिवासी जनजातीले छुट्टै गर्ने, दलितले छुट्टै गर्ने हुँदैन,’ उनले भने,‘अब संयुक्त आन्दोलन हुन्छ। सबै मिलेर हुन्छ।’  

प्रकाशित: १८ फाल्गुन २०७७ ०७:५७ मंगलबार

नयाँ सरकार राजेन्द्र महतो