राजनीति

योगेश भट्टराईको आरोप : प्रधानमन्त्रीबाट अशिष्टता प्रदर्शन हुन थाल्यो

फाइल तस्वीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिप्रति आपत्ति जनाउका छन्। सोमबार चितवनको भरतपुरमा आयोजित अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीबाट अशिष्टता प्रदर्शन हुन थालेको बताएका हुन्।  

यसअघि आइतबार काठमाडौंको बबरमहलमा आयोजित एक कार्यक्रममा प्रधानन्त्री ओलीले प्रचण्ड–नेपाल पक्षका नेताहरुलाई लक्षित गर्दै ‘तपाईंहरू सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो। तपाईंहरू सहिद त होइन, अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन।’ भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओली असभ्य बनिरहेको टिप्पणी गरेका हुन्।  

प्रधानमन्त्री ओलीले अशिष्टता, गालीगलौज र अमानवीयता सिकाइरहेको उनको आरोप छ। ‘केपी ओली होसमा त हुनुहुन्छ? सन्तुलनमा त हुनुहुन्छ? मैले प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनुभयो भनेर भनेको छैन। मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन। तर हिजो (आइतबार) उहाँले जुन भाषण गर्नुभयो, जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो।’ उनले भने।

अर्को प्रसंगमा उनले संविधानमा हुँदै नभएको व्यवस्थालाई आधार मानेर सरकारले संसद विघटन गरेको बताए। उनले असंवैधानिक तवरबाट भएको संसद विघटन खारेज हुने समेत दाबी गरे।

प्रकाशित: २० पुस २०७७ १०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App