राजनीति

सरकारविरुद्ध विप्लव नेकपासहित ४ पार्टीको मोर्चाबन्दी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका चार राजनीतिक दलले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन्।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालबीच मोर्चाबन्दी गर्ने सहमति भएको हो।  

‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ। यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ।’ चारै दलका नेताहरुले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ।

यस्तै विज्ञप्तिमा ‘वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको’ पनि उल्लेख गरिएको छ।  

उनीहरुले सरकारको पछिल्लो कदम पार्टीको आन्तरिक मामिलाका कारण उब्जिएको नभई संसदीय व्यवस्थाको असफल्ताका कारण उत्पन्नल भएको समेत दाबी गरेका छन्।  

प्रेस विज्ञप्तिः

प्रकाशित: १४ पुस २०७७ ०७:०४ मंगलबार

विप्लव सरकारविरूद्ध मोर्चाबन्दी