राजनीति

विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुनः एकताको प्रयास थालेको हो।

पार्टी एकताको समेत सूत्रधार मानिएको गुओको टोलीले काठमाडौंमा प्रधानमन्त्री केपी ओलीसहित नेकपाका चार नेतालाई भेटेर विभाजनको औचित्य र यसले पार्ने असर तथा नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीको भविष्यबारे चासो व्यक्त गरेको थियो। गुओको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटी नेकपा विभाजित हुनुको कारण बुझेका थिए।

आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे। चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओको टोली तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच एकताका लागि २०७४ फागुन ७ मा सातबुँदे समझदारी हुनेबित्तिकै नेपाल आएको थियो। तत्कालीन समयमा दुई पार्टीलाई एकताबद्ध बनाउने काममा उनको टोलीले काम गरेको बताइन्छ। पार्टी विभाजन हुनेबित्तिकै गुओको टोली नेपाल आएर नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्नुले यो पार्टीमा चिनियाँ प्रभाव रहेको भन्न सकिने अवस्था आएको छ। प्रधानमन्त्री ओलीसँग आइतबार राति अबेर भेटघाट गरी गुओको टोलीले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको थियो। टोलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको समेत पार्टी विभाजन नहोस् भन्ने धारणा रहेको सन्देश सुनाएको थियो।

प्रधानमन्त्री ओलीले आफूमा कुनै समस्या नभएको जवाफ दिँदै यो नेकपाको आन्तरिक मामिला भएकाले यसमा अरूको सहयोग आवश्यक नहुने धारणा राखेको स्रोतको दाबी छ। ‘नेपालमा पार्टीहरू विभाजित हुन्छन्, एकता हुन्छ, यहाँको अवस्था यस्तै छ, यो आन्तरिक मामिला हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। त्यसक्रममा चिनियाँ नेताहरूले ओली र दाहाल मिलेर अघि बढे नेपालको कम्युनिस्ट आन्दोलन सफल रहने बताएका थिए। उनीहरूले ओलीसँग चिनियाँ सरकारले नेपाल सरकारलाई गर्ने सहयोगमा कुनै कमी नरहेको, सहयोग जारी नै रहेको, विभिन्न परियोजनामा चिनियाँ लगानी रहेको र भविष्यका पनि अन्य लगानीमा पनि सहकार्य गर्ने जनाएका थिए।

ओलीसँगको भेटपछि सोमबार बिहान सो टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष दाहालसँग भेटी नेकपामा विभाजनको कारणबारे जिज्ञासा राखेको थियो। नेकपा मिल्न सक्ने कुनै आधार बाँकी छ कि छैन भन्ने प्रश्नसमेत टोलीले राखेको थियो। उनीहरूले दाहालसँग नेपालको सिंगो कम्युनिस्ट पार्टीसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को सहकार्य रहेको बताउँदै एकता कायम रहे त्यो सहकार्य पनि यथावत् रहने जनाउ दिएका थिए। ‘पार्टी एकता जोगाउनुस्, नेपालको कम्युनिस्ट आन्दोलनमा तपाईंहरूको सहकार्य आवश्यक छ, कुनै न कुनै बिन्दुमा तपार्इंहरूको एकता कायम हुनुपर्छ भन्ने चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश छ,’ चिनियाँ टोलीनेता गुओले दाहालसँगको भेटमा भनेका थिए। नेकपा विभाजन नेपालको आन्तरिक मामिला भए पनि कम्युनिस्ट भाइचारको सम्बन्ध रहेको बताउँदै सिपिसीले नेपालमा कम्युनिस्ट एकता हेर्न चाहेको गुओले बताएका थिए।

‘नेपालको आन्तरिक मामिला हो तर यहाँ अस्थिरता नहोस्, अन्य शक्तिहरूले टाउको उठाउने अवस्था नओआस् भन्नेतर्फ चिनियाँ सजग रहेको देखियो।’  

दाहालसँगको भेटपछि उनीनिकट एक नेताले भने, ‘मिल्नुस् भन्ने दबाब दिनेभन्दा पनि मनोवैज्ञानिक रूपमा दबाब सिर्जना गर्ने र आन्तरिक मामिला भन्दै उनीहरूबाट विश्व कम्युनिस्ट आन्दोलनमा आएको उत्तारचढावको उदाहरण दिएर एकता भए राम्रो भन्ने आशय आएको छ।’ धेरै समय नबोले पनि उनीहरूले चार नेतालाई एउटै प्रश्नको वरिपरि रहेर नेकपा विभाजनको कारण र असरबारे जान्न खोजेका थिए। ‘अब के हुन्छ, नेकपा विभाजन रोकिन सक्ने अवस्था छ वा छैन तथा मिलनबिन्दु के हो भन्ने प्रश्न उनीहरूको थियो,’ ती नेताको भनाइ छ। उनीहरूले दाहालसँग करिब दुई घन्टा भेट गरेका थिए। त्यसक्रममा उनीहरूले ओली र दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएका थिए। तर दाहालले ओलीमा समस्या रहेका कारण सच्चिए मिल्न सकिने ठाउँ बाँकी रहेको बताएका थिए। ‘दुई नेता मिल्नुपर्ने सुझाव आएको सत्य हो तर दाहालले ओली सच्चिए मिल्न सकिने बताउनुभएको छ,’ दाहालनिकट ती नेताको भनाइ छ।

सिपिसीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख गुओले नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष नेपाललाई पनि सोमबार करिब डेढ घन्टा भेटेर पार्टी विभाजनबारे जिज्ञासा राखे। बानेश्वरस्थित एभरेस्ट होटलमा गुओले नेपाललाई भेटेका थिए। उनीहरूले नेपालसँग पनि नेकपा एकता भंग भइसकेको हो भन्ने प्रश्न गरेका थिए। अध्यक्ष नेपालसँको भेटमा पनि चिनियाँ नेताले मिलनबिन्दु खोजेर एकता कायम राख्न आग्रह गरेको स्रोतको भनाइ छ। उनीहरूले विभाजितभन्दा एकीकृत भएर अघि बढ्न सुझाव दिएको स्रोतको दाबी छ।

यसैगरी चिनियाँ नेताहरू दिउँसो पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका थिए। त्यहाँ पनि उनीहरूले पार्टी विभाजन हुनुको कारण र त्यसको सम्भावित असरबारे जानकारी लिन खोजेका थिए। उनीहरूले खनालसँग ओली, दाहाल र नेपालले पार्टी एकताका लागि के भूमिका खेल्न सक्छन् भन्ने प्रश्न गरेका थिए। चिनियाँ नेताले खनाललाई पार्टी एकताका लागि पहल गर्न आग्रह गरेको स्रोतको दाबी छ। सवा घन्टाभन्दा बढी समय खनाल निवासमा बिताएको चिनियाँ टोलीले सोमबार नै सभामुख अग्नि सापकोटासँग भेट गर्‍यो।

सबैजसो नेताहरूसँगको भेटमा चिनियाँ टोलीले नेकपाको फुटले भविष्यमा नेपालमा अस्थिरतमा निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको थियो। चिनियाँ नेताले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने पनि बताएका थिए। दाहालसँगको भेटमा चिनियाँ प्रतिनिधिमण्डलले नेपालका सबै कम्युनिस्ट पार्टी एकजुट होऊन् भन्ने सद्भाव राखेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। चिनियाँ टोलीले अझै केही दिन नेपालमै बसेर भेटघाटलाई निरन्तरता दिने जनाइएको छ। चिनियाँ टोलीले मंगलबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका युवा नेतासँग भेट गर्ने कार्यतालिका छ।

यसैबीच चीन सरकारले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जनाएको छ। सोमबार चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले दुई देशबीच आपसी हित, महामारी नियन्त्रण, विकास र साझेदारीलगायत विषयमा छलफल तथा राजनीतिक भ्रमण आदानप्रदानका लागि चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको बताएका छन्। उनले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने जनाएका छन्।

प्रकाशित: १४ पुस २०७७ ००:३६ मंगलबार

विभाजित नेकपा चिनियाँको दौडधुप उपमन्त्री गुओ यझाओ प्रधानमन्त्री केपी ओली