राजनीति

साझा पार्टीले खुलामञ्चमा बुधबार बिहान र बेलुका खाना खुवाउने

काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विरोध गरेको छ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नुपर्ने तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझा पार्टीले बताएको छ।

सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खाना खुवाउने घोषणा गरेको छ। खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने साझा पार्टीले बताएको छ। साझा पार्टीले चुनौती दिँदै 'शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले' भनेको छ।

साझा पार्टीले सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता लिएर कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कामको नभए खानाको व्यवस्था गर्न आग्रह गरेको छ। 

प्रकाशित: १८ कार्तिक २०७७ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App