राजनीति

प्रदेश ५ : संसदमा कांग्रेसको नाराबाजी, दश मिनेटमै बैठक स्थगित

तोकीएको भन्दा झण्डै एक घण्टा ढिलो गरी सुरु भएको प्रदेश नं. ५ को प्रदेश सभा बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गर्दै बिरोध जनाएपछि सदन स्थगित भएको छ।  

सभामुख पूर्णबहादुर घर्तीमगरले सदन सुरु गरेलगत्तै विपक्षी दलका नेताले आ-आफ्नो स्थानबाट उठेर बिरोध जनाएका थिए। त्यसलगत्तै सभामुख घर्तीले प्रतिपक्षी दलका नेतालाई आफ्ना भनाई राख्ने समय दिए।

प्रतिपक्ष दलका नेता वीरेन्द्र कनौडीयाले संसदीय मर्यादा कायम गर्न, असंवैधानिक रुपमा संसदमा ल्याइएको नाम र राजधानी सम्बन्धी प्रस्ताव खारेज गर्न, राजधानी र नाम सम्बन्धी अध्ययन गर्न बनेको विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने र आन्दोलनकै क्रममा आइतबार बुटवलबाट पक्राउ परेकाहरुको निःशर्त रिहाइ गर्नुपर्ने मागहरु पुरा नभएसम्म संसद चल्न नदिने भनाइ राखे।  

त्यस लगत्तै सभामुखले बैठक अगाडि बढाउन खोजेपनि कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजीनै गरे। प्रतिपक्षी दलका नेताले राखेका चार वटा माग पुरा गर्न माग गर्दै कांग्रेस सांसदहरुले केही बेर नाराबाजी गरेपछि सभामुखले रोक्ने प्रयास गरे। ‘माननीय ज्युहरु नारा लगाएर भ्याइयो’मन्द मुस्कानसहित सभामुखले सोधेको प्रश्नको बेवास्ता गर्दै नाराबाजी झन चर्काएपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगीत भएको घोषणा गरे।

अहिले नेपाली कांग्रेस सहित रुपन्देहीका व्यवसायिक तथा समाजिक संघ संस्थाहरुले बुटवलको सडकमा नाराबाजी गर्दै राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव खारेजीको माग गरेका छन्। भने संसद भवन भित्र नेपाली कांग्रेसले आफ्ना माग पुरा नभएसम्म संसद चल्न नदिने संसदीय दलको बैठकबाट निर्णय नै गरेर बिरोधमा उत्रेको छ।  

सरकारले  गत शुक्रबार प्रदेश नं ५ को नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव संसदमा पेश गरेको थियो। त्यस यता आज पहिलो पटक बसेको प्रदेश सभा बैठकमा सोही प्रस्ताव सम्वन्धी छलफल गर्ने कार्यसूची थियो।  

 

 

 

प्रकाशित: १९ आश्विन २०७७ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App