राजनीति

नक्सा छाप्दा हटाउने खेल भयो: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खेल सुरु भएको बताएका छन्। भारतबाट अतिक्रमित नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि आफूलाई हटाउन विभिन्न होटलमा गतिविधि हुन थालेको उनले बताएका हुन्।

मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन होटल होटलमा गतिविधि हुने गरेको तथा भारतीय दूतावास सक्रिय भएको दाबी गरे। उनले आफूलाई हटाउन जो–जो सक्रिय भए पनि नेकपा संसदीय दल तथा पार्टी त्यति कमजोर नभएको स्पष्ट पारे। 

भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा छापेपछि आफूविरुद्ध षडयन्त्र भएको उनले बताए। ‘भारतले गरेका गल्तीविरुद्ध बोल्नेबित्तिकै जो कोही हटाउन लाग्ने वा हट्ने हो भने भोलि आउने प्रधानमन्त्री बोल्नै नसक्ने अवस्था हुन्छ। त्यसकारण  आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ’, उनले भने, ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधुप भएका छन्। भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ। नक्सा छापेकालाई अपराध भनेका छन्। मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन्। राजदूतावासमा सक्रियता बढेको छ।’

ओलीले नेपालको नयाँ नक्सा छापेबापत कसैले आफूलाई हटाउँछु भनेर सोचेको भए त्यो पूरा नहुने र  नेपालको राष्ट्रियता त्यति कमजोर नभएको बताए। ‘नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने नेपालको राष्ट्रियता त्यति कमजोर छैन, तुरुन्तै मलाई हटाउन सकियोस्। कसैले नसोचे हुन्छ। हिजोको जस्तो कसैले हतारो नगरे पनि हुन्छ, अतिक्रमित भूमि फिर्ता ल्याउने हो’, ओलीले भने।

ओलीले आफू अहिले जिम्मेवारीबाट हटिदिँदा आगामी दिनमा नेपालको पक्षमा बोल्ने अर्को प्रधानमन्त्री पनि हट्नुपर्ने अवस्था आउने बताए। ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन तर अहिले हट्ने हो भने भने भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्छ। आफ्ना लागि होइन, देशका लागि, आजका लागि होइन, भोलिका लागि म प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ’, उनले भने।

प्रधानमन्त्री ओलीले विगत सम्झँदै भारतको नाकाबन्दीका बेला आफूले चीनसँग पारवहन सन्धि गरेर आएपछि सरकार ढलेको बताए। उनले त्यतिबेला आफ्नो पार्टीको बहुमत नभएका कारण सरकार ढलेको तर अहिले पार्टी कमजोर नभएको र बहुमतको सरकार भएको बताए। उनले अतिक्रमित भूमि नेपालले फिर्ता लिनुपर्ने भएकाले अब पछाडि फर्कने ठाउँ नभएको बताए। ‘हामीले हाम्रो जमिन फिर्ता ल्याउन खोजेका हौं, अर्काको जमिन मागेको होइन’, ओलीले भने।  

भारतलाई देखाएर अन्तरविरोध टार्दै ओली
सत्तारुढ नेकपामा आन्तरिक मतभेद तीव्र बन्दै गइरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागेको बताएर विवादको विषयान्तर गर्न खोजेका छन्। प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा ओलीको कार्यशैलीलाई लिएर दलभित्रैबाट तीव्र आलोचना भइरहेका बेला उनले विषयान्तर गर्न भारतलाई अघि सारेका हुन्।  

पार्टीभित्र कुनै छलफल नगरी अध्यक्ष एवं प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढेको भन्दै त्यसको समीक्षा गर्न स्थायी समितिका बहुमत सदस्यहरूले तीन महिनदेखि  बैठक बोलाउन माग गर्दै आएका थिए। तर विभिन्न बहाना बनाएर बैठक टार्दै आएका ओली अमेरिकी सहयोग अनुदान ९एमसिसी० का विषयमा छलफल गर्न स्थायी समितिको बैठक राख्न सहमत भएका थिए। स्थायी कमिटीको बुधबारदेखि सुरु बैठकमा सरकारका कामको समीक्षा हुनुका साथै विभिन्न विषयमा सदस्यहरूले आआफ्नो धारणा राखेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूले ओलीको कार्यशैलीको आलोचना गरेका छन्।

बैठकमा आफूविरुद्ध स्थायी कमिटीका केही सदस्य आक्रमकरुपमा प्रस्तुत हुने संकेत पाएका प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रवाद र सीमा सुरक्षा तथा नयाँ नक्सा जारी गरेको विषयलाई रक्षाकबच बनाएका छन्। साथै पार्टीभित्र आफू र सरकारविरुद्ध निर्माण हुँदै गएको सरकार विरोधी धारलाई कमजोर बनाउने प्रयासमा ओली जुटेका छन्।  

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल यो बेला प्रधानमन्त्री ओलीको भनाइ असान्दर्भिक भएको टिप्पणी गर्छन्। यतिबेला सरकारले जारी गरेको नयाँ नक्साको विषय उठाएर पार्टीभित्र उठेको विरोधी आवाजलाई मत्थर पार्ने दाउ प्रधानमन्त्री ओलीको हुनसक्ने पोखरेलको बुझाइ छ। ‘भारतले त्यस्तो षड्यन्त्र नगर्ला भन्न सकिँदैन। उसले यस्तो गर्दै पनि आएको छ तर प्रधानमन्त्रीले भनेजस्तो अहिलको सन्दर्भमा त्यो कुरा पुष्टि हुँदैन,’ पोखरेलले भने, ‘ओलीलाई हटाउनुपर्छ भनेर भारत लाग्यो भन्ने अहिलेको सन्दर्भ ठिक भएन।’

प्रधानमन्त्री ओलीले चाहेर मात्रै नेपालको नयाँ नक्सा जारी भएको होइन। सुरुमा सरकाले नीति तथा कार्यक्रम बनाउँदा त्यसमा नयाँ नक्सा जारी गर्ने विषय थिएन। पार्टी सचिवालय बैठकले नीति तथा कार्यक्रममा यो विषय राख्नुपर्छ भनेपछि बल्ल थप भएको पोखरेल बताउँछन्। पार्टीभित्र ओलीको कार्यशैलीलाई लिएर आलोचना भैरहेको छ। यस्तो  बेलामा ओलीले नयाँ नक्सा छापेबापत आफूलाई हटाउन भारत लागेको भन्दै बैठकको ध्यान अन्यन्त्रै मोड्न खोजेको हुनसक्ने पोखरेलको बुझाइ छ। ‘उहाँले नयाँ नक्सा छाप्ने मात्र होइन, जमिन नै फिर्ता ल्याउन हो भन्नुभएको थियो। अहिले नक्सा छापेको विषय उठाएर पार्टी बैठकको ध्यान अन्यन्त्र मोड्न खोज्नुको अर्थ छैन। उहाँको कार्यशैलीलाई लिएर पार्टीभित्र व्यापक आलोचना भएको छ। यसले के देखाउँछ भने उहाँमा चरम कुर्सी मोह छ’, प्राध्यापक पोखरेलले भने।  

स्थायी कमिटीको बुधबारको बैठकमा आफ्नो धारणा राखेका ओली शुक्रबारको बैठकमा उपस्थित भएनन् भने शनिबार एक घण्टाजति उपस्थित भएर बाहिरिएका थिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठकमा अनुपस्थित भएपछि सदस्यहरुले बैठकमा बसेर उनले कुरा सुन्नुपर्ने र बैठक पार्टी कार्यालयमा बस्नुपर्ने धारणा राखे।

कार्यशैलीलाई लिएर आलोचना भएपछि ओलीले पटकपटक बैठक छल्ने प्रयास गरेका थिए। बल्लबल्ल बसेको बैठकमा पनि ओली र अर्का अध्यक्ष दाहालका परस्पर विरोधी धारणा आएपछि अन्योल उत्पन्न भएको छ। बुधबारको बैठकमा वरिष्ठ नेता माधव नेपालले पनि ओलीको भनाइमा आपत्ति जनाएपछि शीर्ष नेताहरुमै तिक्तता रहेको पुष्टि भएको थियो।  

प्रधानमन्त्री ओली घर झगडा मिलाउन नसक्दा भारतलाई दोष दिएर सरकार विरोधी धारणा कमजोर बनाउन प्रयासमा लागेको नेकपाकै नेताहरुले बताएका छन्। शुक्रबार र शनिबारको बैठकमा बोल्न नेताहरुले नक्सा जारी गरेको विषय पार्टी कमिटीले नै पास गरेका कारण व्यक्ति विशेषले जस लिन खोज्ने काम गलत भएको बताएका थिए। उनीहरुले यसको सिंगो जस पार्टीलाई जाने बताएका थिए।  ‘पार्टी बैठक चलिरहेको छ। भारतले प्रधानमन्त्रीलाई हटाउन खोजेको हो भने बैठकमा त्यो कुरा आउनुपर्छ। पार्टी नै एक ढिक्का भएर त्यसको सामना गर्छ तर प्रधानमन्त्रीले बाहिरबाहिर आफूलाई भारतले हटाउन लागेको छ भनेर भन्दै हिँड्नुको अर्थ छैन’, स्थायी कमिटीका एक सदस्यले भने।

आइतबार र सोमबारका लागि स्थगित स्थायी कमिटीको अर्को बैठक मंगलबार बस्नेछ।

प्रकाशित: १५ असार २०७७ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App