राजनीति

जनकपुरमा लगातार चौथो दिन प्रदर्शन

संघीय सरकार र प्रदेश सरकारका पछिल्ला कामको बिरोध गर्दै नेपाल तरुण दलका कार्यकर्ताहरूले जनकपुरमा चौथो दिन पनि प्रदर्शन गरेका छन्। विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने विधेयक, कोरोना नियन्त्रण तथा रोकथाममा प्रभावकारी काम नभएको, प्रादेशिक अस्पताल जनकपुरमा उपचार नपाएर राजु सदाको मृत्यु भएको बिरोधमा तरुण दलका कार्यकर्ताहरू शनिबार जनकपुरमा सिटी जुलुस प्रदर्शन गरेका छन्।

‘विभेदकारी नागरिकता विधेयक खारेज गर, राजु सदा को हत्यारालाई कारबाही गरलगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए। जनकचोकबाट सुरु भएको जुलुस भानुचोकमा कोणसभामा परिण भएको थियो। कोणसभालाई सम्बोधन गर्दै तरुण दल धनुषाका उपाध्यक्ष राकेशबिक्रम साहले संघीय सरकारले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध तोड्न नागरिकता विधेयक ल्याएको आरोप लगाए।  

‘हजारौं वर्षदेखिको रोटीबेटीको सम्बन्ध हटाउन मधेशीलाई लक्षित गरी संघीय सरकाले भारतबाट आएको बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक ल्याएको छ।’ उनले भने, ‘यो विधेयक अबिलम्ब फिर्ता लिनुपर्छ।’ उपचार नपाएर प्रादेशिक अस्पताल जनकपुरमा राजु सदाको मृत्यु भएको घटनाको निष्पक्ष छानविन गरेर दोषिलाई कारबाही गर्न समेत उनले माग गरे।  

अस्पतालमा पुगेको बिरामी उपचार नपाएर अस्पतालमै मृत्यु हुँदा समेत सरकारले केही नगर्नु दुखद भएको उनको भनाइ थियो। नेविसंघकी केन्द्रीय सदस्य ममता महतोले भारतबाट बिहे गरेर आएकी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिनु कुनै हालतमा स्वीकार्य नहुने बताइन। सरकारले यो विधेयक फिर्ता नलिए आन्दोलन थप  चर्काउने उनको भनाइ थियो।

प्रकाशित: १४ असार २०७७ ०३:४६ आइतबार

प्रदर्शन