राजनीति

राती १० बजेदेखि विहान ५ बजेसम्म पैदल हिड्न समेत नपाइने

१५ जनाभन्दा बढी भेला हुन नपाईने, सांस्कृतिक र परम्परा मनाउँदा ख्याल गर्नुपर्ने

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको बेला गृह मन्त्रालयले राती १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक कामबिना पैदल हिड्न समेत निषेध गरेको छ । शुक्रबार गृह मन्त्रालयले  बन्दाबन्दी सम्बन्धी सुरक्षा मापदण्ड जारी गर्दै यस्तो निर्णय गरेको हो । मापदण्ड अनुसार राती १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक काम बाहेक पैदल हिड्न समेत पाइने छैन । 

विहान मर्निङवाक वा अन्य कारणले बाहिर निस्कनेलाई नियम पालना गर्न गृहले आग्रह गरेको छ ।  गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विहान बेलुकी भएको भीडलाई नियन्त्रण गर्नको लागि गृहले यस्तो निर्णय गरेको हो । उक्त मापदण्ड असार दुई गते नै तयार गरिएको थियो । सम्बद्ध निकायहरुसँगको छलफलमा महामारीको बेला जिवनयापन कसरी सञ्चालन गर्ने उद्देश्यले यो मापदण्ड निर्माण गरिएको हो ।

मापदण्डमा प्रशासनिक कार्य, ओहोरदोहोर, काम गर्दा अपनाउनुपर्ने सावधानीलगायत विषयलाई तोकिएको छ । ‘यस्तो नियम बन्दाबन्दीलाई सहजिकरण गर्नका लागि बनाइएको हो, सधै बन्द गर्नु नै यसको उपचार नभएकोले महामारी नफैलियोस् भन्ने यस्तो मापदण्ड तयार पारिएको हो,’ उनले भने । 

उनका अनुसार सामाजिक दुरी कायम गर्ने, कार्यालय वा अन्य ठाउँमा काम गर्दा दुई मिटरको दुरी कायम गर्नुपर्ने, स्वास्थ्य मन्त्रालयले जारी गरेको सुरक्षा पालना गर्ने, अनावश्यक भीड सिर्जना नगर्ने, १५ जनाभन्दा बढी भेला नहुने, सांस्कृतिक र परम्परा मनाउँदा ख्याल गर्नुपर्नेलगायत पक्षलाई समेटेर मापदण्ड बनाइएको छ । तोकिएको मापदण्ड नमान्नेलाई कानुनी कारबाही गरिने पनि उक्त मापदण्ड पत्रमा उल्लेख छ ।

प्रकाशित: ५ असार २०७७ १२:३९ शुक्रबार

गृह मन्त्रालय पैदल हिड्न