राजनीति

सरकारसँगै छैन मोडालिटी परिवर्तनको खाका

देशभर लकडाउनको अवज्ञा

रोगले भन्दा भोकले मर्ने बेला भयो भन्दै देशभर लकडाउनको अवज्ञा शुरु भएको छ । व्यापारीहरु र सर्वसाधारणले लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने र सुरक्षित भएर आफ्ना गतिविधि गर्न पाउनु पर्ने भन्दै भद्र रुपमै लकडाउको अवज्ञा शुरु गरेका हुन् ।  

लकडाउन ७१ दिनमा पुग्दा काठमाडौको जोरपाटी, हेटौडा, वीरगन्ज, सुर्खेत,धनगढी पोखरा लगायतका मूख्य शहरहरुमा व्पायारी र सर्वसाधारणले लकडाउनको मोडालिटी परिवर्तन गर्न माग गरेका छन् । सरकारले ३२ जेठसम्म लकडाउन थप गरेपछि नीजि क्षेत्रका व्यवशायी मात्र होइन सर्वसाधरण समेत आक्रोसित बनेका थिए । लकडाउन बढ्दै जाँदा, कृषकले उत्पादन गरेको सामान पनि फ्याक्नुपर्ने अवस्था आएको छ ।  

मजदुरहरु भोकै मर्ने अवस्था आएको, उद्योगधन्दा सञ्चालन गर्ने अवस्था नभएको भन्दै नीजि क्षेत्रका व्यवशायीहरुले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दबाब दिएका थिए । सरकारले मंगलबार सरकारले नीजि क्षेत्रका उद्योगी व्यवशायीहरुसँग यो विषयमा छलफल गरेको छ । कोभिड–१९ (कोरोना) भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गरेको थियो । व्यवशायीहरुसँग सरकारले तयार पारेको मोडालिटीको बारेमा पनि छलफल गरेका थिए ।  

लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिस काममा निस्कन थालेका छन् । विगत दिनमा भन्दा मंगलबार काठमाडौ उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो थियो । मंगलबार सडकमा गुडेका गाडीलाई प्रहरीले पनि चेकजाँच पनि खुकुला बनाएको थियो । अत्यावश्यक सेवाका सवारीसाधन र पास लिएकाबाहेकलाई पनि सामान्य सोधपुछ गरेर छाड्ेको थियो । उपत्यकाका बाहिरी र भित्री सडकमा रहेका अत्यावश्यक खाद्यान्न तथा तरकारी पसलहरू बिहान र साँझको समयमा खुलेका थिए भने काठमाडौको जोरपाटीमा सबै प्रकारका पसलहरु खुलेका थिए ।  

तर लकडाउन भएको ७१ दिनसम्म पनि सरकार सुझाव माग्नमै व्यवस्त छ । सरकारसँग लकडाउनको मोडालिटी परिवर्तन गरी उद्योगधन्दा कलकारखना खुलाउने कुनै भरपर्दो खाका छैन । ‘हामीले उद्योग धन्दा चलाउनका लागि स्वास्थ्य सुरक्षा सामाग्रीको उपयोग गरेर उद्योग खुलाउने विषयमा छलफल गरेका छौ, मूख्य सचिवज्यूले केही खाका पनि बनाउनु भएको छ तर उच्चस्तरीय समितिले यो विषयमा छलफल गरेर मात्रै राख्छ कार्यान्वयन गर्दैन यसले मात्रै प्रयाप्त भएन भनिन्छ त्यहाँबाट पनि स्पष्ट खाका हामीले पाएका छैनौं’, प्रधानमन्त्री कार्यालयका एक सचिवले भने । 

उनका अनुसार उद्योगी व्यवशायीहरुसँग छलफल गरेर लकडाउनको मोडालिटी तयार गर्ने भनिएपनि तीन चरण कुराकानी हुँदा पनि अहिलेसम्म स्पष्ट खाका तयार भएको छैन । मन्त्रिपरिषदको बैठकले मूख्य सचिव लोकदर्शन रेग्मीलाई त्यसको खाका बनाउने जिम्मेवारी दिएको हो तर उहाँले बनाएको खाकालाई अन्तिम रुप दिइएको छैन’, प्रधानमन्त्री कार्यालय स्रोतल भन्यो ।  

‘पहाडी, हिमाली जिल्ला र संक्रमण कम भएका जिल्ला,उपत्यकाको आन्तरिक आवागमन एवं उत्पादन र सेवामूलक उद्योग, संघसंस्थाका गतिविधि खुकुलो बनाउने,आन्तरिक हवाई उडान एवं विमानस्थलको स्वास्थ्य प्रोटोकल तयार हुँदै, विमानस्थलमा ‘लाइन मार्किङ’ गर्ने जस्ता विषयमा पहिलेदेखिनै छलफल चलेको हो अहिलेसम्म यस्तै विषयमा मात्रै अलमल भैरहेको छ’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अपरान्ह लकडाउन खुकुलो बनाउने विषयमा छलफल गर्नका लागि आर्थिक सामाजिक क्षेत्रका केही विज्ञहरुलाई वालुवाटारमा बोलाएका छन् । सरकारका तर्फबाट दुई यता मात्रै कस्तो खाका तयार गर्ने भन्ने विषयमा छलफल थािलएको छ । ‘प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी पाएका व्यक्तिहरुले पनि यो विषयमा रुचीपूर्वक छलफल गरेका छैनन’, स्रोतले भन्यो ‘कर्मचारीले बनाएको खाका भएन भन्छन समितिबाट पनि खाका आउदैन ।’

ल्कडाउनको ७१ दिनमा उपप्रधानमन्त्री समेत रहेका उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले केही व्यवशायीहरुलाई बोलाएर राय सुझाव माग्दा पनि उनले सरकारको तयारी बारे केही बताएका थिएनन । ‘सरकारले के गर्न लागेको छ भन्ने बारेमा सुझाव दिनेहरुलाई सरकारी धारणा सुनाउन चाहनु भएन यसले पनि के प्रष्ट पार्छ भने उच्चस्तरीय समितिसँग कुनै खाका नै छैन’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । 

समितिमा रहेका सदस्यहरुले लकडाउन खुकुलो पार्ने विषयमा धेरै पटक छलफल गरेका भएपनि आजसम्म कुन मोडालिटीबाट खुकुलो बनाउन सकिन्छ भन्ने बारेमा कुनै स्पष्ट योजना र निर्देशिका बनाउन सकेका छैनन । 

प्रकाशित: २१ जेष्ठ २०७७ ००:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App