राजनीति

विदेशमा ९६ नेपालीको मृत्यु, ६ हजार बढी संक्रमित

स्वदेश फर्किनेका लागि आन्तरिक तयारीमा सेना

विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसका कारण शनिबारसम्म विदेश(दक्षिण एसियाबोक)मा रहेका  ९६ नेपालीको मृत्यु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए)ले जनाएको छ । कोरोनाबाट ६ हजार सात सय ८१ नेपाली विदेशमा संक्रमित भएको एनआएएनएको तथ्यांकमा उल्लेख छ । 

एनआरएनएको तथ्यांकअनुसार विदेशमा सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा  १५ जनाले ज्यान गुमाएका छन् । संयुक्त अरब इमिरेटस्(युएई)मा नौ, साउदी अरबमा दुई र  आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेनमा एकजनाको मृत्यु भएको संघले जनाएको छ । मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेको संघको स्वास्थ्य समितिले जानकारी दिएको छ ।

त्यस्तै कोरोनाबाट कतारमा २ हजार पाँच सय, अमेरिका १ हजार ६ सय, बेलायतमा १ हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएईमा २ सय, कुवेतमा ८४, नेपालमा २ सय ८१, साउदी अरबमा ६ सय ७४, र मलेसिया ४९ संक्रमित भएका छन् । त्यस्तै पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्टे«लिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साइप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, म्यानमार १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको संघले जनाएको छ ।  

अलपत्र परेकालाई स्वदेश फर्काउन प्रस्ताव  

कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वयन समितिले आइतबार विदेशमा अलपत्र परेका तथा समस्यामा परेका नेपालीको उद्धारको प्रस्ताव गरेको छ । रोजगारीका लागि विभिन्न देश पुगेका २० हजार बढिलाई तत्काल उद्धार गर्ने सरकारले तयारी गरेको छ । कुवेतसहितका केही देशले त्यहाँ रहेका नेपालीलाई फिर्ता लैजान सरकारलाई निरन्तर दबाब दिँदै आएको छ । रोजगारीका लागि विदेश गएका हजारौं नेपाली स्वदेश फर्कन खोजिरहेका छन् । तीमध्ये केहीको भिसा अवधि सकिइसकेको छ भने कतिपय रोजगारी गुमाएको अवस्थामा छन् ।  

सेनाको आन्तरिक तयारी  

विदेशमा नेपालीको मृत्युदर र संक्रमणको संख्या बढ्दै गएपछि सरकारमाथि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने दबाब बढ्दै गइरहेको छ । 

नेपाली सेनाले सरकालाई सहयोग पुग्नेगरी विदेशबाट फर्किने नेपालीका लागि के गर्ने भन्नेबारे आन्तरिक तयारी थालेको छ । सेना आफंैले गर्नुपर्ने काम र सरकारले दिएका अन्य भूमिकालाई कसरी निर्वाह गर्ने भन्ने विषयमा विस्तृत योजना तयार गरेको स्रोतले जनाएको छ । सेनाले आम नागरिकको स्वास्थ्य, सुरक्षा व्यवस्थापनका तथा सामाजिक सुरक्षा व्यवस्थापनका चुनौतीलाई केन्द्रित गरी योजना बनाएको जनाएको छ ।  

त्यसका लागि तत्कालीन व्यवस्थापन र दीर्घकालीन संलग्नतालाई हेरेर विश्लेषणात्मक छलफल गरको सेनाले जनाएको छ । यस विषयमा प्रधानसेनापतिले सबै पृतनापति तथा जंगी अड्डास्थित अंगहरुलाई अन्य निकायहरु, प्रदेश तथा केन्द्रीय तहमा समन्वय गरी कार्य सम्पादन गर्न निर्देशन दिइसकेको सेनाले जनाएको छ ।  

सेनाले भारतबाट विभिन्न नाका हुँदै ३ लाख ५० हजार नेपाली  नेपाल प्रवेश गर्नसक्ने र त्यसमध्ये १५ प्रतिशत संक्रमित हुनसक्ने आंकलन गरेएको छ । त्यसैले भारतबाट सीमानाका हुँदै भित्रने नेपालीलाई मापदण्डबमोजिम स्वास्थ्य जाँच गरेमा मात्र प्रवेश गराउने सेनाको तयारी रहेको छ । त्यस्तै प्रवेश गरेकाहरुलाई यातायातको व्यवस्थापन गरी सम्बन्धित जिल्लास्थित क्वारेन्टिनमा पठाउने व्यवस्था गरिने सेनाले जनाएको छ ।  

त्यस्तै हवाई माध्यमबाट करिब १० लाख नागरिक भित्रन सक्ने सेनाको अनुमान रहेको छ । सेनाले प्रतिदिन १० हजारको संख्यामा नेपाल भित्रन सक्ने अनुमानका आधारमा व्यवस्थापन योजना बनाएको जनाएको छ । त्यसका लागि विमानस्थलमा हेल्थ डेस्कको व्यवस्थापन गरी स्वास्थ्य जाँच गर्ने र सोपश्चात क्वारेन्टिनका लागि सम्बन्धित जिल्लामा पठाउने योजना रहेकोे छ । स्थल वा हवाई मार्गबाट आउनेमध्ये स्वास्थ्य जाँचमा शंकास्पद देखिएलाई सिधै नाका रहेको प्रदेशस्थित कोभिड अस्पतालमा आइसोलेसनमा लैजाने योजना सेनाको रहेको छ । कुन नाकाबाट वा एयरपोर्टबाट आएका शंकास्पद बिरामीलाई कुन अस्पतालमा लैजाने भन्ने पनि योजना बनिसकेको सेनाले जनाएको छ ।  

सेनाले स्वदेश फर्किनेका लागि पनि केही नियम बनाएको छ । जस्तो तोकिएको नाकाबाट मात्रै आउनुपर्ने, दुई हप्ता आ आफ्नो जिल्लाको क्वारेन्टिन तथा ७ दिन आफ्नै घरमा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने, तथा आफूबाट अरुलाई र अरुबाट आफूलाई सर्नसक्ने र अनियन्त्रित किसिमले फैलन सक्नेबारे जानकारी पूर्ण पालना गर्नुपर्नेछ । सेनाले स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय तथा प्रदेश सरकार, जिल्ला प्रशासन तथा स्थानीय तहलेसमेत आफ्नो जिम्मेवारीअनुसारको काम गर्नुपर्ने जनाएको छ ।  

प्रकाशित: ५ जेष्ठ २०७७ ०२:०८ सोमबार

लकडाउन