राजनीति

स्थायी कमिटी बैठकका लागि गृहकार्य पुगेन : अध्यक्ष दाहाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक बस्न नसकेको बताएका छन्। आजका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले औपचारिक प्रतिकृया दिएका हुन्।

अध्यक्ष दाहालले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए। उनले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए। संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष दाहालले भने, ‘अलि गृहकार्य नपुगेकै हो। दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ।’

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ।

अध्यक्ष दाहालले आज नै संसद सभाहलको अनुगमन पनि गरेका छन्। अनुगमनका क्रममा दाहालले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए। ‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ। प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाइएको छ। स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ। ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ।’’ आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ। संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो।

प्रकाशित: २५ वैशाख २०७७ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App