राजनीति

सांसद फकाउँदै ओली

काठमाडौं - राजनीतिक दलसम्बन्धी अध्यादेशको आफ्नै पार्टीभित्रैबाट व्यापक आलोचना भएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई फकाउन थालेका छन्। 

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई  साथमा राखेर बुधबार ओलीले सो अध्यादेशबारे सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका सांसदलाई जानकारी गराए। उनले अध्यादेश आवश्यक भएर ल्याएको र नेकपाप्रति लक्षित नभएको दाबी गरे। 

पार्टीभित्रै आलोचना बढेपछि प्रधानमन्त्री ओलीले प्रदेश–प्रदेशका संघीय सांसदलाई बालुवाटार बोलाएर समूहगत छलफल सुरु गरेका हुन्। ओलीले पार्टी सचिवालय बैठकमा अध्यादेशको विरोध भएको र स्थायी कमिटीका कतिपय सदस्यले विमति राखेपछि सांसदसँग छलफल थालेका हुन्।

‘अध्यादेश कसैप्रति लक्षित गरेर ल्याइएको होइन। यो चाहिएरै ल्याएको हो। संसद् अधिवेशन स्थगित छ, तत्काल बोलाउने सम्भावना नभएकाले अध्यादेशको आवश्यकता परेको हो। कोरोनाको प्रभावका कारण बैठक कसरी राख्ने भन्ने पनि अन्योल छ’, प्रधानमन्त्री ओलीले बुधबार सांसदसँग भनेका थिए। 

ओलीले सांसदसँगको छलफलमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि संशोधन गर्ने अध्यादेश पनि आवश्यकता परेर नै ल्याएको दाबी गरेका थिए।

‘संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकातिर ४० प्रतिशत पु¥याएर पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको पनि होइन र यो पार्टी (नेकपा) त्यसरी फुटाउनका लागि हामीले बनाएको पनि होइन,’ ओलीलाई उद्धृत गर्दै एक सांसदले भने। 

प्रधानमन्त्री ओलीले काठमाडौबाट बाहिर जान स्थानीय सरकारसँग समन्वय गर्नुपर्ने, तत्काल सीमानाका खुला नहुने र लकडाउन अझै कडा हुने जानकारी समेत गराएका थिए। सांसदसँगको छलफल बिहीबार पनि जारी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रकाशित: ११ वैशाख २०७७ ०२:२३ बिहीबार

अध्यादेश केपी_शर्मा_ओली सांसद