राजनीति

माधव नेपालको अपिल : पार्टीलाई विधिसम्मतरुपमा अघि बढाउन एकतावद्ध बनौं

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई मजवुत बनाउने काममा लाग्न आम नेता कार्यकर्तालाई अपील गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेपालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै हाल बिकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ, यस्तो अवस्थामा हामीले सिंगोपार्टी पंक्तिलाई भावनात्मक रुपमा एकतावद्ध बनाउन जिम्मेवारीका साथ अघि बढन आग्रह गरेका हुन।

 ‘ पार्टीलाई बिधिका अधारमा सहमति, समझदारी र बिश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योगदान गर्न पनि म सवैलाई आग्रह गर्दछु,’ वरिष्ठ नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालले बलियो र एकताबद्ध पार्टीबाट मात्र आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेका जिम्मेवारी कुशलताका साथ पूरा गर्न सक्ने धारणा राखेका छन्। नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा नेपालले अपिल जारी गर्दै पार्टीमा सुदृढ एकताका लागि जोड दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार राजनीतिक दल अलग गर्न मिल्ने गरी अध्यादेश ल्याएपछि पार्टीभित्र अनेक आशंकाहरु उब्जिरहेका बेला यस्तो अपिल आएको हो। ‘राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिस्ट पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्घतितथा संगठनात्मक प्रणाली, नेतृत्वतहबीचको विश्वास, कार्यकर्ताहरुबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ। यसर्थ, यस चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममाक्रियाशील रहन आव्हान गर्दछु’, जारी गरिएको अपिलमा भनिएको छ। उनले हाल विकसित कतिपय घटना क्रमले पार्टी भित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको भन्दै यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्ने जनाएका छन्।

‘पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रहगर्दछु। व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेस वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघिबढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु’, उनले अपिलमा भनेका छन्। वरिष्ठ नेता नेपालले कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टी सहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने र यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनिमूलजिम्मेवारीबाट ध्यानअन्यत्रमोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुदैन समेत बताएका छन्। ‘विश्व स्वास्थ्य संगठनले जारी गरेका मापदण्ड र नेपाल सरकारले गरेका निर्णयहरुको पालनागर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जन सेवाको भावनाबाट अग्रसर हुन म सबैलाई हार्दिक अनुरोध गर्दछु’, उनले अपिलमा भनेका छन्।

प्रकाशित: ९ वैशाख २०७७ १२:३२ मंगलबार

नेकपा माधव_नेपाल अध्यादेश