राजनीति

अध्यादेशबारे देउवाले भने : सत्ताको उन्माद प्रस्तुत गर्नु इतिहासकै दुखद घटना

काठमाडौं- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै यसलाई सरकारको आपत्तिजनक कदम र ग्रैह जिम्मेवार प्रवृति भनेका छन्। नागरिकको जीवन रक्षाको लागि काम गर्नु पर्ने समयमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु इतिहासकै सबैभन्दा दुखद घटना र वेमौसमी बाजा भएको देउवाले बताएका छन्।

सरकारले राजनीतिक दलसम्बन्धी कानुनमा संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजै अध्यादेश जारी भएको छ। राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्दै पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्ने गरी अध्यादेश जारी भएको छ। यस्तै, विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि जारी भएकोछ। कोरोनाबाट नागरिकको जीवन रक्षाको निम्ति जुट्नु पर्ने बेला यस्ता अध्यादेश ल्याउनुले सरकार नागरिकको जीवन रक्षाको लागि गम्भिर नभएको प्रष्टयाएको देउवाले बताएका छन्। उनले यस्ता अलोकतान्त्रिक र संविधानको मर्म विपरितका विधेयक तत्काल फिर्ता गर्न समेत माग गरेका छन्।

प्रकाशित: ८ वैशाख २०७७ १५:२८ सोमबार

अध्यादेश कांग्रेस सरकार