राजनीति

राप्रपा र राप्रपा (संयुक्त) बीच एकता घोषणा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र (संयुक्त) बीच बुधबार एकता घोषणा गरिएको छ। दुवै पार्टीका नेताहरूको उपस्थितिमा घोषित एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ। गत शनिबार मात्र राप्रपा र राप्रपा (संयुक्त) का नेताहरूले दुई पार्टीबीच एकता गर्ने सहमति गरेका थिए।

पार्टी एकता घोषणा कार्यक्रममा राप्रपाका नेता कमल थापाले गीतामा हात राखी अबदेखि पार्टी नफुटाउने र फुट्न पनि नदिने कसम खाएका थिए। ‘विश्वास गर्नुहोस्,’ कार्यकर्ताहरूलाई आश्वस्त पार्दै उनले भने, ‘राप्रपालाई अब कहिले फुटाउनेछैन, फुट्न दिनेछैन।’ दुई पार्टी एकताबाट आफू पूर्ण सन्तष्ट रहेको उनको भनाइ थियो। अब नयाँ संकल्प र उत्साहसाथ अघि बढ्नुपर्ने उनले बताए। उनले भने, ‘अब पार्टी फुट्छ कि भन्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हौऔं।’

दुई पार्टी एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबाबमा नभएको भनाइ नेता थापाको थियो। ‘एकतापछि देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उदय भएको छ,’ उनले भने, ‘दुई पार्टी एकतासँगै तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको छ।’ कांग्रेस र कम्युनिस्टले बोकेका विचार र मार्गचित्र त्रुटिपूर्ण रहेको उनको जिकिर थियो। देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको पनि उनले चर्चा गरे।

राप्रपाका नेता पशुपतिशमशेर राणाले शक्तिशाली मानिएको केपी ओली सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए। अहिलेका पार्टीहरूले गर्न नसकेको काम राप्रपाले गर्ने घोषणा उनले गरेका थिए। घोषणा कार्यक्रममा तत्कालीन राप्रपा संयुक्तका नेता सुनिल थापाको भने उपस्थिति थिएन। राप्रपाका नेता भुवन पाठकका अनुसार एकीकृत पार्टीको केन्द्रीय समिति, पदाधिकारीलगायत एकीकृत पार्टीको सबै निकायमा ५५÷४५ को भागबन्डा गरिनेछ। यसैगरी एकीकृत पार्टीमा तीन अध्यक्ष कमल थापा, पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनी रहने व्यवस्था गरिएको छ।

दुई राप्रपा एक भएको यो पहिलोपटक भने होइन। यसअघि पटकपटक राप्रपामा फुट र जुट हुँदै आएको छ। २०४६ सालको परिवर्तनपछि दुईवटा राप्रपाको जन्म भएको थियो। एउटा राप्रपाको नेतृत्व सूर्यबहादुर थापा र अर्को राप्रपाका नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरेका थिए। त्यसपछि २०७६ फागुन २४ सम्म राप्रपाको एकता र फुट धेरैपटक भइसकेको छ। २०७४ मंसिरमा भएको प्रतिनिधिसभाको चुनावको केही महिनाअघि पछिल्लोपटक राप्रपामा फुट आई पशुतिशमशेर राणा र कमल थापाले अलगअलग पार्टीको नेतृत्व गरेका थिए। त्यतिबेला थापाले राप्रपाको नेतृत्व गरे भने राणाले तत्कालिन राप्रपा (प्रजातान्त्रिक) को नेतृत्व गरे।

चुनावमा दुवै पार्टीले अपेक्षाकृत पराजय भोगे। त्यसपछि राणाको राप्रपा (प्रजातान्त्रक) र डा. प्रकाशचनद्र लोहनीको राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भई राप्रपा (संयुक्त) को गठन भयो। राप्रपा (संयुक्त) मा दुई अध्यक्ष राख्ने व्यवस्था गरियो। त्यसपछि थापाले नेतृत्व गरेको राप्रपा र राणा–लोहनीले नेतृत्व गरेको राप्रपा (संयुक्त) बीच पटकपटक एकीकरण प्रयास भए। झन्डै डेढ वर्ष लामो गृहकार्य र छलफलपछि दुवै पार्टीका नेता पार्टी एकीकरण गर्न सहमत भएका हुन्।

प्रकाशित: २९ फाल्गुन २०७६ ०३:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App