राजनीति

दुई राप्रपाबीच एकीकरण हुँदै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरण गर्न दुई पार्टीका नेताहरूले अन्तिम गृहकार्य गरेका छन्। एकीकृत पार्टीका नाम, चुनाव चिह्न र झण्डाका विषयमा करिब करिब सहमतिनजिक पुगेको दुवै पार्टीका नेताले जनाएका छन्। राप्रपाका प्रवक्ता भुवन पाठकका अनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी हुनेछ। चुनाव चिह्नबारेमा ‘उपयुक्त समयमा उपयुक्त निकायबाट निर्णय हुनेछ,’ भनी सहमति गरिएको छ।

यसैगरी, केन्द्रीय समिति, पदाधिकारीलगायत एकीकृत पार्टीका सबै निकायमा ५५/४५को भागबन्डा गरिने छ, जसअनुसार ५५ प्रतिशत भाग राप्रपाले पाउने छ भने ४५ प्रतिशत राप्रपा(संयुक्त)ले पाउनेछ। एकीकृत पार्टीमा तीन अध्यक्ष रहने प्रस्ताव गरिएको पनि पाठकले जानकारी गराए। उनका अनुसार कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीको हैसियत अध्यक्षमा बरबार हुनेछ। बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको छ। ‘हामी त भोलि(शुक्रबार)नै पार्टी एकता घोषणा गर्न तयार छाैं। तर उहाँहरू(राप्रपा संयुक्त)का नेताबाट जवाफ पर्खेर बसेका छौं,’ राप्रपाका प्रवक्ता भुवन पाठकले बताए। तर राप्रपा (संयुक्त)का अध्यक्ष राणाले भने दुई पार्टीबीच एकीकरण वार्ता सकारात्मक भए पनि टुंगो लागिनसकेको बताए। ‘उहाँहरू(राप्रपका नेताहरू)ले भनेको जस्तो सबै विषयमा टुंगो लागेको त होइन तर वार्ता सकारात्मक छ,’ राणाले भने। केही दिनमा राप्रपा र राप्रपा(संयुक्त)बीच एकीकरणको टुंगो लाग्ने पनि उनले जनाए।

राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकीकरणका लागि यसअघि पनि पटकपटक प्रयास भएको थियो तर कहिले चुनाव चिह्न र कहिले राजालाई हेर्ने विषयमा सहमति नहुँदा एकीकरण हुन सकेको छैन। तर यसपटक भने सबै विषयमा करिब करिब सहमतिनजिक पुगेको दुवै पार्टीका नेताहरूले जनाएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७६ ०३:४१ शुक्रबार

राप्रपा एकीकरण