राजनीति

राप्रपा एकीकरण प्रक्रिया भाँडियो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच चुनाव चिह्नलाई लिएर एकीकरण प्रक्रिया फेरि भाँडिएको छ । राप्रपा संयुक्तले एकीकृत पार्टीको चुनाव चिह्न हलो हुनुपर्ने प्रस्ताव गरेको छ भने राप्रपाले महाधिवेशनबाट चिह्नको टुंगो लगाउनुपर्ने अडान राखेपछि दुई पार्टीबीचको एकीकरण भाँडिएको हो ।

राप्रपाका प्रवक्ता भुवन पाठकले एकीककरण प्रक्रिया तत्काललाई टरेको जानकारी दिए । ‘एकीकृत पार्टीको चुनाव चिह्न महाधिवेशनबाट टुंगो लगाऔं भन्ने सहमति हामीबीच भएको थियो तर शुक्रबारदेखि उहाँहरू(राप्रपा संयुक्तका नेताहरू)ले हलो हुनुपर्छ भन्ने अडान राख्नुभयो,’ प्रवक्ता पाठकले भने, ‘त्यसैेले राप्रपा र राप्रपा(संयुक्त)बीच एकीककरण प्रक्रिया तत्काललाई टरेको हो ।’

शुक्रबारदेखि जारी पार्टी केन्द्रीय समितिको शनिबारको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले चुनाव चिह्नको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच एकीकरण प्रक्रिया टरेको ब्रिफ्रिङ गरेका थिए । गत दुई दिनदेखि राप्रपा केन्द्रीय समितिको बैठक जारी छ ।

अबको बैठक पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएको राप्रपाका सहमहामन्त्री राजेन्द्रवीर रायले बताए । दुई पार्टीबीच एकीकरणका लागि गत साल पनि प्रयास गरिएको थियो ।

प्रकाशित: १९ माघ २०७६ ०२:२० आइतबार

राप्रपा_एकीकरण प्रक्रिया