राजनीति

सुदूरपश्चिममा नेकपामा दुबै उम्मेदवार विजयी

डोटी- राष्ट्रियसभा निर्वाचन अन्तर्गत सुदूरपश्चिमबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुबै उम्मेदवार विजयी भएका छन्। यहाँ दुई सिटका लागि निर्वाचन भएको थियो। जसमा नेकपाका अन्य(खुला) तर्फका उम्मेदवार तारामान स्वाँर र महिलातर्फका उम्मेदवार शारदा भट्ट निर्वाचित भएका छन्।

अन्य(खुला)समुहबाट विजयी उम्मेदवार स्वाँरले तीन हजार सात सय २० मतभार प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मतभार प्राप्त गरेका छन्। जसमा स्थानीयतर्फ तीन जना मतदाताको ५४ मतभार बदर भयो।

महिलातर्फ विजयी उम्मेदवार भट्टले तीन हजार सात सय ३८ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले एक हजार आठ सय चौपन्न मतभार प्राप्त गरिन्। महिलातर्फ स्थानीय तहका दुई मत(३६ मतभार) बदर भए। यस्तै प्रदेशसभा सदस्यको मतपेटिकामा एकमत बढी भेटिएपछि त्यसलाई बदर मानिएको छ। ‘प्रदेश सभा सदस्यहरुमा ५२ मत खसेको हो,’ मुख्य निर्वाचन अधिकृत काफ्लेले भने,‘महिलातर्फको पेटिकामा ५३ मत भेटिए। जुन पुरुषतर्फको एकमत यो पेटिकामा खसालिएको रहेछ।’ त्यसलाई बदर मानिएको उनले बताए।

यस प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ प्रमुख÷उपप्रमुख र ५३ जना प्रदेश सभा सदस्यगरी कुल दुई सय २९ जना मतदाता छन्। जसको स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका  ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ।

जसमा दुई मतबाहेक सबै खसेको मुख्य निर्वाचन अधिकृत काफ्लेले जनाए। उनका अनुसार बझाङको शैपाल गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहरा र  प्रदेश सभा सदस्य मिना साउँदको मत खसेन। २०७४ को राष्ट्रियसभा निर्वाचनमा मतदान नगरेका राष्ट्रिय जनता पार्टीका दुईजना सांसदहरु  कृष्णबहादुर चौधरी र मालमती राना थारुले भने यस पटक मतदान गरेका छन्।

प्रकाशित: ९ माघ २०७६ १४:२१ बिहीबार

राष्ट्रियसभा_निर्वाचन विजयी