राजनीति

प्रदेश ५ मा ३ सय ३ मत खस्यो

निर्वाचनमा मतदान गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेल ।

दाङ- प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा ३ सय ३ मत खसेको छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य ८६ र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १७ जनाले मतदान गरेका हुन्।

राष्ट्रियसभा निर्वाचनको प्रदेश नम्बर ५ मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार कुल प्रदेशसभा सदस्य ८७ मध्य ८६ जनाले मतदान गरे। केहि दिनअघि मात्रै प्रदेशसभा सदस्य बलदेब शर्मा पोख्रेलको निधन भएपछि एक मत कम भएको हो। यसैगरि स्थानीय तहका २ सय १९ मतदातामध्ये एकजना स्थानीय तहका मतदाता मतदानमा अनुपस्थित भएको थापाले जानकारी दिए।

यो प्रदेशमा तीन सदस्यका लागि ९ जना चुनावी प्रतिष्पर्धामा छन्। मुख्य निर्वाचन अधिकृत थापाका अनुसार मतदान सकिएपछि बेलुका मतगणना सुरु हुने छ। मतदान अपरान्ह ४ बजेसम्म भएको थियो। निर्वाचनमा अन्य तर्फ ४ जना नेपाली कांग्रेसका बालकृष्ण पाण्डे, नेकपाबाट गोपाल भट्राई, राष्ट्रिय जनमोर्चाबाट शिवप्रसाद पौडेल र समाजवादी पार्टीबाट कृष्णप्रसाद अहिर उम्मेदवार छन्।

यसैगरि अपांगता तथा अल्पसंख्यक तर्फ तीन जना नेकपाबाट जगप्रसाद शर्मा, कांग्रेसबाट मेराज अहमद हलवाई र समाजवादीबाट सुनिलकुमार सिंगल चुनावी प्रतिस्पर्धामा छन्। यसैगरि महिला तर्फ २ जना नेकपाबाट बिमला घिमिरे र कांग्रेसबाट गिरिजादेवी न्यौपाने चुनावी प्रतिष्पर्धामा छन्।

 

 

प्रकाशित: ९ माघ २०७६ १२:३५ बिहीबार

राष्ट्रियसभा निर्वाचन