राजनीति

लोकतान्त्रिक शक्ति एकठाउँमा हुनुपर्छ : थापा

काठमाडौं – पूर्वमन्त्री तथा राप्रपा संयुक्तका वरिष्ठ नेता सुनीलबहादुर थापाले उदार लोकतन्त्र गम्भीर खतरामा परेको बताएका छन्।

धनकुटामा विभिन्न कार्यक्रममा सरिक हुन पुगेका थापाले बुधबार नागरिकसँग कुरा गर्दै उदार लोकतन्त्रमाथि गम्भीर खतरा देखिएको हुँदा सबै उदार लोकतन्त्रवादीहरू एकठाउँमा उभिनुपर्ने बताएका छन्। उनले लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउने रणनीति तयार गर्न र देशभरिका लोकतन्त्रवादीलाई परिचालन गर्न नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने आग्रह गरे। थापाले संविधानका उपलब्धिको रक्षाका निम्ति सत्तारूढ नेकपा र सरकारले विपक्षीसँग संवाद गर्नुपर्नेसमेत बताए।

‘नेकपाले राष्ट्रिय हितलाई ध्यानमा राखी विपक्षी दलहरूको विश्वास जित्नुपर्छ,’ थापाले भने। अमेरिकी सहयोग एमसिसीका सन्दर्भमा थापाले भने, ‘कम्युनिस्ट पार्टीभित्र दुई राजनीतिक ध्रुव देखिएका छन्। एमसिसीबारेमा व्यक्त प्रतिक्रिया पार्टीभित्रकै वैकल्पिक विचार निर्माणको प्रयास हो।’

उनले संसदबाट एमसिसी पारित हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउँदै यो अमेरिका सरकारबाट सडक र विद्युतीय कनेक्टिभिटीका निम्ती नेपाली जनतालाई दिइएको सद्भावपूर्ण सहयोग भएको उल्लेख गरे।

नेपाल–भारत सम्बन्धबारे थापाले भने, ‘यी दुई देश भूगोल, वर्ण तथा साझा सभ्यता र पारस्परिक भविष्यसँग जोडिएका ऐतिहासिक मित्र हुन्। यी दुई देशबीच आपसमा बसेर उठेका मुद्दाहरू समाधान गर्नुबाहेक कुनै विकल्प रहेकोसमेत थापाले बताए। चीनसँगको सम्बन्धमा थापाले राजा, नेपाली कांग्रेस र अहिले नेपाल कम्युनिस्ट पार्टीसँग चीनको राम्रो सम्बन्ध रहेको बताए। चीनले जहिल्यै सत्तारूढ दलसँग काम गरेको देखिन्छ। थापाले यी दुई मुलुकबीच विकास निर्माणमा सहकार्यका प्रशस्त क्षेत्र भए पनि यहाँ राजनीतिक असन्तुलन भएको खण्डमा नेपाल थप राजनीतिक संकटमा पर्नसक्ने चेतावनी दिए।

संविधानसभामा प्रत्यक्ष निर्वाचित सदस्यसमेत रहेका थापाले राप्रपा संयुक्तले लिएको राजनीतिक लाइनबारे सोधिएको प्रश्नमा जनआन्दोलन २०६२÷०६३ का उपलब्धिको रक्षाका लागि संविधान जारी हुँदा सशक्त अभियान सञ्चालन गरेको बताए। संविधान जारी गनेृ बेलामा राप्रपा सांसदले यसको पक्षमा मतदान गरेकोबारे जानकारी गराए। लोकतान्त्रिक दलमा गणतन्त्रको पक्षमा बोल्न दिनुपर्ने उनले उल्लेख गरे।

कांग्रेस प्रवेशबारे सोधिएको प्रश्नमा उनले भने, ‘यतिबेलाको प्रमुख प्रश्न सबै लोकतान्त्रिक शक्ति कसरी लोकतन्त्रविरुद्धको सामूहिक चुनौतीविरुद्ध साझा मञ्चमा उभिन सक्छन् भन्ने हो।’

प्रकाशित: ९ माघ २०७६ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App