राजनीति

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्। उपसभामुख पदबाट राजीनामा दिनुअघि सोमबार बिहान बालुवाटारमा बोलाएर दुवै अध्यक्षले उनलाई नयाँ जिम्मेवारीको आश्वासन दिएका हुन्।

दुई अध्यक्षले संसदीय दलका उपनेता सुवास नेम्बाङ र पार्टी महासचिवलाई समेत सँगै राखेर आश्वसन दिएको स्रोतले बतायो। दुई अध्यक्षसँगको भेटपछि तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन्। बालुवाटारबाट नेम्बाङसँगै फर्केकी तुम्बाहाम्फे लामो समयसम्म उनैसँग छलफलमा बसेकी थिइन्।

पार्टी महासचिव विष्णु पौडेलले तुम्बाहाम्फेलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने बताए। ‘उहाँलाई पहिला केन्द्रीय सदस्यको जिम्मेवारी दिइनेछ त्यसपछि सार्वजनिक राजकीय जिम्मेवारी पनि पाउने सम्भावना छ’, पौडेलले नागरिकसँग भने।

अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल र सहरी विकास मन्त्रालयको जिम्मेवारी सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका गोकुल बाँस्कोटाले पाएका छन्। तुम्बाहाम्फेलाई ती दुईमध्ये एक मन्त्रालयमा जिम्मेवारी दिएर पठाउने नेकपा स्रोतले जनाएको छ। ‘एक साताभित्रै जिम्मेवारी दिने कुरा भएको छ। ढिलो भए सभामुख निर्वाचनको प्रक्रियालगत्तै उहाँलाई मन्त्री बनाइनेछ’, नेकपा स्रोतले भन्यो।

बिहानको छलफलमा अध्यक्ष दाहालले पार्टीभित्र उचित जिम्मेवारी दिने आफ्नो दायित्व भएको र राजकीय जिम्मेवारी दिने दायित्व प्रधानमन्त्रीसमेत रहेका ओलीको भएको बताएका थिए। ‘तपाईंसँग पार्टीगत रुपमा लामो सहकार्य गर्ने अवसर मलाई भएन, पार्टी एकीकरणपछि तपाईंको फरक जिम्मेवारीका भएका कारण सम्पर्क सम्बन्ध रहन सकेन अब तपाईंको योग्यता क्षमताको कदर गर्न मैले कन्जुस्याइँ गर्नेछैन। राजकीय जिम्मेवारी दिने विषयमा पनि हामीले सल्लाह गरिसकेका छौं’, दाहालले तुम्बाहाम्फेलाई सम्बोधन गर्दै भनेका थिए। दाहालले निकै भावुक भएर तुम्बाहाम्फेलाई सम्झाउने कोसिस गरेका थिए। पार्टी एकताको भावाना र मर्मलाई ध्यान दिएर सभामुखमा निर्णय गर्नुपरेको समेत बताएका थिए। ‘तपाईंको क्षमता छैन भने हामीले हटाउन खोजेको होइन तर परिस्थिति नै यस्तो भयो कि पार्टी एकताको भावनालाई समेट्न पनि हामी दुई अध्यक्ष भएर यस्तो निर्णय गरेको हौं’, दाहालले भनेका थिए। ओलीले पनि उचित जिम्मेवारी दिने तयारी भइरहेको बताएका थिए।

प्रकाशित: ७ माघ २०७६ ०१:१२ मंगलबार

शिवमाया_तुम्बाहाम्फे पार्टी जिम्मेवारी मन्त्री