राजनीति

उपसचिवमा बढुवा भएकालाई स्थानीय तहमा खटाइँदै

काठमाडाैँ – काठमाडौं बाहिरका अधिकांश स्थानीय तहमा शाखा अधिकृतभन्दा माथिका कर्मचारी अभाव भएको बेला सरकारले बुधबार बढुवा भएका ७१ जना उपसचिवलाई स्थानीय तहमा खटाउने तयारी गरेको छ। उनीहरूलाई खटाउँदा निमित्तले स्थानीय तह चलाउने परम्परा हट्ने संघीय मामिला तथा सामान्य मन्त्रालयको भनाइ छ।

अहिले पनि १ सय ६६ वटा स्थानीय तहमा निमित्तले चलाएका छन्। तीमध्ये एक दर्जनभन्दा बढी स्थानीय तहमा नायब सुब्बाले चलाएका छन्। संघीय मामिलाका प्रवक्त भूपाल बरालले बुधबार बढुवा भएका र अब बढुवा हुने उपसचिवलाई स्थानीय तहमा खटाउने मन्त्रालयले तयारी गरेको बताए। एक महिनाभित्र अरु एक सयभन्दा बढी उपसचिवको पनि बढुवा हुँदैछ। ती उपसचिवलाई पनि स्थानीय तहमा खटाउने सरकारले तयारी गरेको छ। ‘बढुवा भएका उपसचिवहरूमध्ये अधिकांशलाई स्थानीय तहमा पठाउँदा निमित्तले स्थानीय तह चलाउने परम्परा बन्द हुन्छ,’ बरालले भने।

मन्त्रालयका अर्का सहसचिव बाबुराम अधिकारीले पनि स्थानीय तहमा उच्च कर्मचारीको अभाव रोक्न बुधबार बढुवा भएका उपसचिव र अब बढुवा हुने सबै उपसचिवहरूलाई स्थानीय तहमा पठाउने तयारी मन्त्रालयले गरको बताए। संघीय मामिला मन्त्रालयले प्रशासन सेवा कर्मचारीलाई मात्र स्थानीय तहमा प्रमुख प्रशसकीय अधिकृतको जिम्मेवारी दिदै आएको छ।

प्रशासन सेवाका कर्मचारीलाई मात्र प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा नायब सुब्बाले चलाएका स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक कर्मचारीबीच मयार्दाक्रममा विवाद आउने गरेको छ। यस्तो विवाद रोक्न मन्त्रालयले बढुवा भएका उपसचिवहरूलाई स्थानीय तहमा खटाउने तयारी गरेको हो। बुधबार बढुवा भएका सबै उपसचिव प्रशासन सेवाका छन्। तीमध्ये केही कर्मचारी नेता पनि छन्। अधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य ढकाल र नेपाली कांग्रेसनिकट नेपाल कर्मचारी युनियन(संघ)का नेता राजेन्द्र बुढाथोकी पनि शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका छन्।

प्रकाशित: ३ माघ २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App