राजनीति

प्रदेशसभा बैठक अर्को साता

प्रदेश ३ को मन्त्रिपरिषद् बैठक बस्दै। तस्बिरः नागरिक

मकवानपुर – प्रदेश ३ को प्रदेशसभा बैठक बर्खे अधिवेशन अन्त्य भएको चार महिनापछि अर्को साता बस्ने भएको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद्ले निर्णय गर्दै आगामी सोमबार प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रीय सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीबारे निर्णय गरेको भोलिपल्टै प्रदेश ३ सरकारको बैठक बसेको हो। ‘पुस २१ गते हिउँदे अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ,’ प्रदेश ३ सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भने।

प्रदेशसभाले प्रदेशको स्थायी राजधानी र नाम तोक्ने लगभग पक्का भएको छ। नेकपाको केन्द्रीय सचिवालयको निर्णयसँगै प्रदेशको नाम बागमती र राजधानी हेटौंडालाई प्रदेशसभाबाट औपचारिकता दिइने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नेपालको संविधानअनुसार प्रदेशसभाको दुईतिहाइ मतबाट प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउने व्यवस्था छ। १ सय १० जना सांसद रहेको प्रदेश सभामा नेकपाको दुईतिहाइ बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसको २२, विवेकशील साझा, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी आठ सांसद रहेको छ।
प्रदे सभाका जेष्ठ सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलकोे अध्यक्षतामा दुई वर्षअघि नेपालको सबैभन्दा पहिला प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेश सभाको २०७४ माघ १८ गते बैठक बसे लगत्तै स्थायी राजधानी र नाम तय गर्न बहस शुरु भएपछि विवाद भएपछि विशेष समिति पनि गठन गरिएको थियो।

राजधानीबारे नेकपाका प्रदेश सांसदहरुबिच मत बिभाजन भएपछि निर्णय गर्न मुख्यमन्त्री पौडेललगायतले पार्टी केन्द्रीय नेताहरुलाई आग्रह गर्दै आएका थिए। नेकपाकै केही सांसदहरु काभ्रे र भक्तपुर प्रदेशको स्थायी राजधानी बनाउन लविङ्ग गरिरहेका थिए।

स्थायी राजधानी र नाम तय हुने
प्रदेशसभाको आगामी बैठकको मुख्य अजेन्डा राजधानी र नाम हुने लगभग पक्का भएको छ। आगामी सोमबार बस्ने पाँचौ अधिवेशनमा अन्य विधेयक दर्ता नगरिँदै बैठक आह्वान गर्ने निर्णयले राजधानी र नामाकरण टुंग्याउने निश्चित छ।

प्रदेशसभा सचिवालयमा सरकारका तर्फबाट कुनै विधेयक दर्ता नभएको र समितिमा कुनै विधेयक नरहेको प्रदेशसभाका सचिव रामशरण घिमिरेले बताए। ‘प्रदेशसभा सचिवालयमा कुनै विधेयक दर्ता छैन,’ उनले भने, ‘प्रदेश सभाको समितिमा पनि विधेयक पठाइएको छैन।’

नाम र राजधानी नै टुंग्याउन नसकेको आरोप खेप्दै आएको प्रदेश सरकारलाई पार्टी केन्द्रीय निर्णयले राहत प्रदान गरेको छ। नेकपा केन्द्रीय सचिवालयको निर्णय गरेलगत्तै बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभा बैठक आह्वान गर्ने निर्णयले पनि स्थायी राजधानी र नाम टुंग्याउन बल पुगेको देखिन्छ।

गत भदौ २५ गते बर्खे अधिवेशन सकाएपछि लामो समयसम्म प्रदेशसभा बैठक आह्वान नगरेपछि नेपाली कांग्रेसलगायतले सरकारको ध्यानाकर्षण गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, विवेकशील साझा, नेमकिपा तथा सत्ता पक्षकै अधिकांश प्रदेश सांसदले प्रदेशसभाको बैठक बसी राजधानी, नामसँगै समसामयिक विषयमा छलफल गर्नुपर्ने बताउँदै आएका थिए।

प्रदेशसभाको चारवटा अधिवेशनमा एक सय २७ वटा बैठक बसेको थियो। प्रदेशसभाले ४५ वटा विधेयक पारित गरेको छ भने ४४ वटा विधयेक प्रदेश प्रमुखबाट प्रमाणिकरण भई ऐन(कानुन) निर्माण भइसकेको छ।

प्रकाशित: १५ पुस २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App