राजनीति

अझै जुटेन कांग्रेसमा सहमति

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि एक सातादेखिको पहल अझै सफल हुन सकेको छैन। आन्तरिक विवाद समाधान गरेर पार्टी केन्द्रीय समिति बैठक सञ्चालन गर्न पार्टी उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच आइतबार भएको छलफल पनि निष्कर्षमा पुग्न सकेन।

पूर्वमहामन्त्री सिहंको निवास चाक्सीबारीमा आइतबार भएको छलफलमा नेपाल विद्यार्थी संघको कार्यसमितिमा कसको भागमा के र कति पर्ने भन्ने विषयमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन। संघको कार्यसमिति भागबन्डा विवादमै केही दिनदेखि समय बिताउँदै आएका कांग्रेसका दुबै पक्षीय नेताहरू आइतबार पनि सोही विषयमा अल्मलिएका छन्।

संस्थापन पक्षलाई संघको नेतृत्व दिनेमा दुवै पक्षबीच समझदारी बनिसकेको छ। तर, महाधिवेशन आयोजक समिति गठन गर्ने कि पूर्वकार्यकालको बनाउने भन्नेमा दुई पक्षबीच समझदारी बन्न सकेको छैन। असन्तुष्ट पक्ष पूर्णकार्यकालको समिति गठन गरेर जाने हो भने ३२ वर्ष तलकोलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा छ। तर, संघको कार्यसमिति भागबन्डामा सहमति भए त्यसमा पनि असन्तुष्ट पक्ष लचिलो बन्न तयार छ।असन्तुष्ट पक्षले तरुण दलमा जस्तै अध्यक्ष उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्ष गरी पदाधिकारी भागबन्डा गरेर जानुपर्ने वा महामन्त्रीको संख्या सात बनाएर तीन आफ्नो पक्षलाई दिनुपर्ने अडान राख्दै आएका छन्। तर, संस्थापन पक्षले चार महामन्त्री बनाएर अध्यक्ष, एक महामन्त्रीसहित बहुमत कार्यसमिति निकटको राख्ने प्रस्ताव गर्दै आएको छ।

उपाध्यक्ष, सहमहामन्त्रीसहितका पदाधिकारी मिलाएर जाने संस्थापनको प्रस्तावलाई असन्तुष्ट पक्षले अस्वीकार गर्दै आएका छन्। बहुमत कार्यसमिति सदस्य आफ्नो आफुसँग राखेर अन्य पक्षको उपस्थीति मात्र जनाउन खोजीएको असन्तुष्ट पक्षको गुनासो छ। ‘सम्मानजनक भागबन्डा भए पदाधिकारी बारेपनि समझदारीमा पुग्न सकिन्छ,’ एक नेताले भने, ‘तर, संघको कार्यसमितिमा भागबन्डामा संस्थापन पक्ष पेलेर जानखोज्यो। त्यसले गर्दा समस्या भयो।’

संस्थापन र इतर पक्ष बीच १४औं महाधिवेशनको कार्यतालिका, विभागको संख्या बढाएर गठनका साथै तरुण दलको कार्यसमिति गठनमा समझदारी बनिसकेको छ। संस्थापन पक्षले पार्टीको कार्यकाल एक वर्ष थप गरेर २०७७ फागुनमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। त्यसमा असन्तुष्ट पक्ष तयार देखिएको छ। उसले अन्तिम समयमा महाधिवेशन पु¥याउँदै कुनै कारणले गर्न नसके संवैधानिक व्यवस्थाको साहारा लिनुपर्ने अवस्था आउने भन्दै मंसिरको ५ देखि ८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। तर, उपसभापति निधिले फागुनमा महाधिवेशन गर्नेमा ढुक्क हुन आग्रह गर्दै आएका छन्।

तरुण दलको कार्यसमिति पोखरा महाधिवेशनअनुसारै गठन गर्ने समझदारी बनेको छ। रामचन्द्र पौडेल (असन्तुष्ट पक्ष)लाई दलमा महामन्त्रीसहित ३५ प्रतिशत भाग दिन सहमति बनेको छ। तर, संस्थापन पक्षले अर्को महामन्त्री दिन आग्रह गर्दै आएको छ।

छलफल सकारात्मक भइरहेको जिकिर गर्दै केन्द्रीय सदस्य एकं नेता दिलेन्द्रप्रसाद बडूले दुबै पक्षले शीर्ष नेताहरुसँग कुरा गरेपछि थप छलफल हुने जानकारी दिए। दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दलका साथै विभाग र १४औं महाधिवेशनको कार्यतालिको विषयमा विवाद हुँदा दुई सातादेखि कांग्रेस केन्द्रीय समिति बस्न सकेको छैन। नेता पौडेलसहित असन्तुष्ट पक्षले केन्द्रीय समिति बहिष्कार गरेपछि संस्थापन पक्षले पुस १० गतेसम्मका लागि बैठक स्थगित गरेको छ।

प्रकाशित: ७ पुस २०७६ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App