राजनीति

बिरासत जोगाउन र भत्काउनको रस्साकस्सी

धरान – मौसम चिसिँदै गए पनि मंसिर १४ गते हुन लागेको उपनिर्वाचनले धरानको राजनीतिक पारो भने तातेको छ। मतदान गर्ने दिन आउन एक साता मात्र बाँकी रहँदा मनोनयन दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आक्रमकशैलीमा चुनावी प्रचारप्रसारमा जुटेका छन्। अनेक प्रचार शैली अपनाएर उम्मेदवारहरू मतदाता आकर्षित गर्ने प्रयत्नमा छन्। २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेबाट विजयी मेयर तारा सुब्बाको निधनपछि धरानको मेयर पद रिक्त छ। यस्तै, वडा नं ७ मा निवार्चित अध्यक्ष भुवन मोक्तानको पनि निधन भएको थियो। धरानमा वडा नं ७ को अध्यक्षको पनि चुनाव हुँदैछ, तर मेयर पदको चर्चाले गर्दा वडाध्यक्षको चुनावको चर्चा ओझेलमा छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा मेयरका प्रत्यासी मतदातालाई थुप्रै आश्वासन बाँडिरहेका छन्। धरानमा १२ राजनीतिक दल र ११ स्वतन्त्र गरी कुल २३ जना मेयरका उम्मेदवार छन्। ती मध्ये नेकपाका उम्मेदवार प्रकाश राई र नेपाली कांग्रेसका उम्मेदवार तिलक राईबीच मुख्य प्रतिस्पर्धा हुनेछ। तेस्रो शक्तिका रूपमा रहेको समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो र संघीय लिम्बुवान मञ्चका उम्मेदवार अमर इजम पनि चुनावी प्रचारमा छन्, तर पहिचानको चर्को राजनीतिक गतिविधि हुने धरानमा यी पार्टीको प्रभाव भने अपेक्षित छैन।

धरानको चुनावमा कम्युनिस्ट र कांग्रेसबीचमा नै तीव्र प्रतिस्पर्धा भएको छ। जित सधैं कम्युनिस्टले हात पार्दै आएका छन्। २०४६ सालको परिवर्तनपछि संसदीय र स्थानीय सबै चुनावमा कम्युनिस्ट उम्मेदवार विजयी भएका छन्। पञ्चायतकालमा पनि धरानमा जनपक्षीय उम्मेदवारले जितेका थिए। त्यसैले धरानलाई लालकिल्ला पनि भनिन्छ। यस उपनिर्वाचनमा नेकपा आफ्नो बिरासत जोगाउने अभियानमा छ भने कम्युनिस्ट गढ भत्काउने प्रयत्नमा कांग्रेस जुटेको छ। बिरासत जोगाउने र भत्काउने अभियानले धरानको चुनावी सरगर्मी यतिबेला तातेको छ।

नेपाली कांग्रेसका धरान सभापतिसमेत रहेका तिलक राईले २०७४ सालको स्थानीय तहको निर्वाचनमा तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए भने तिलकले १६ हजार १ सय २ मत पाएका थिए। तत्कालीन माओवादीका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएर तेस्रो भएका थिए। एमालेले धरानको २० वटा वडा मध्ये १४ वटामा जितेको थियो भने माओवादीले १ र कांग्रेसले ५ वटा वडा मात्रै जितेको थियो। संघीय र प्रदेशसभा निर्वाचनमा पनि नेकपाका उम्मेदवार नै विजयी भएका काराण पहिलाको मतको आधारमा अहिले नेकपा उम्मेदवारको पल्ला नै भारी देखिन्छ।

तर कांग्रेसका नेता, कार्यकर्ता भने गत निर्वाचनको परिणामलाई यसपटक आधार बनाउन नसकिने बताउँछन्। तीनै तहका सरकारले जनअपेक्षाबमोजिम काम गर्न नसकेको जनताको असन्तुष्टिलाई कांग्रेसले आफ्नो पक्षमा पार्ने अभियानमा छ। साथै, यसपालि कांग्रेस परिष्कृत र संगठित पनि भएकोले निर्वाचन परिणाम फेरबदल हुने कांग्रेस निर्वाचन परिचालन कमिटीका सदस्य सचिव सुजेन्द्र गोले तामाङ बताउँछन्। ‘मतदाताले यसापाली कम्युनिस्टको विकल्प शक्तिका रूपमा कांग्रेसलाई रोजेका छन्,’ उनले भने, ‘पहिला नेकपाले पाएको मत सबै उसको कार्यकर्ताको होइन, यसपालि मतदाताको मनस्थिति परिवर्तन भएको छ।’

कांग्रेसले यो उपनिर्वाचनलाई कति महत्व दिएको छ भने एक सातमा हरेक दिन केन्द्रीय नेता ल्याएर कोणसभा गरिरहेको छ। निर्वाचन परिचालनको कमाण्डर केन्द्रीय सदस्य महेश आचार्य निरन्तर धरानमा खटिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल, विजय गच्छदार, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मालगायत पनि धरान आइसकेका छन्। उनीहरुले कोणसभामा सम्बोधन गर्ने मात्र होइन, घरदैलोमा पनि हिडेर मतदाता रिझाउने प्रयास पनि गरेका छन्।

नेकपाको निर्वाचन परिचालन कमिटी संयोजक रमेश बस्नेत मत घटबढ हुने भए पनि ८ देखि १० हजार मतले जित्ने दाबी गर्छन्। जितको बलियो आधार पार्टीको संगठन भएको बस्नेतले बताए। ‘जनताको पक्षमा संघ, प्रदेशबाट आएको योजनाहरुलाई जनताले मुल्यांकन गरेर भोट दिनेछन्। हाम्रो जित्ने आधार त बलियो संगठन नै हो,’ उनले भने। कांग्रेसले जस्तो नेकपाले केन्द्रीय नेता परिचालन नगरे पनि स्थायी समिति सदस्य तथा प्रदेश १ इञ्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौला धरानमा खटिएका छन्। यस्तै, छिमेकी जिल्लाका नेता, सांसदहरु पनि धरानमा परिचालन भएका छन्।

राजनीतिक विश्लेषक एवं महेन्द्र बहुमुखी क्याम्पस धरानका सहप्राध्यापक डा.राजेन्द्र शर्मा भने दुई तिहाईको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा जनता निरास भए पनि कांग्रेससँग पनि आकर्षित हुनुपर्ने कारण नभएको बताउँछन्। विगतमा कांग्रेसको सरकारलाई जनताले नजिकबाट नियालेको कारण मतदाताले विकल्प रोज्छन् कि भन्ने अनुमान यसपालि पनि नदेखिने उनको विश्लेषण छ। ‘मतदाताले राम्रो काम गर्यो कि गरेन भनेर भोट दिएको देखिएको छैन। यहाँ वामपन्थी रुझान छ, जे गरोस् भोट वामपन्थीलाई नै हाल्ने ग्रामिण मतदाताजस्तो चरित्र छ,’ डा.शर्माले भने, ‘कांग्रेस र नेकपाबीच नै प्रतिस्पर्धा हो। यसपालि कांग्रेसले मत बढाउछ, वामपन्थीको घट्छ, तर परिणाम विगतकै जस्तो आउँछ।’

खानेपानी, बसपार्क र कर वृद्धि मुख्य अजेन्डा
उपनिर्वाचनमा धरानको खानेपानी आयोजना, कर वृद्धि र सडक पूर्वाधार मुख्य अजेन्डाको रूपमा दलहरूले उठाएका छन्। खानेपानी धरानको सबैभन्दा ठूलो समस्या हो। यो समस्या हल गर्न एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदानमा परियोजना सञ्चालनमा छ। पटकपटक म्याद थपिएको आयोजना असफल बनाएको भन्दै कांग्रेसले नेकपामाथि प्रहार गरिरहेको छ। यस्तै, अव्यवस्थित बसपार्क र जीर्ण तथा सडकको खाल्डाखुल्डीले जनताले पाएको सास्ती एवं कर वृद्धिलाई पनि कांग्रेसले प्रमुखताका साथ उठाएर मत तान्ने प्रयासमा छ। ‘बसपार्क, खानेपानी आयोजना, सडक निर्माण सबै अलपत्र छ, साना व्यापारी व्यवसायी विस्थापित हुनेगरी कर वृद्धि गरिएको छ,’ कांग्रेस उम्मेदवार राईले भने, ‘नेकपाको सरकार जनताले चाखिसकेका छन्, र यसपटक परिवर्तन चाहेका छन्। जनताले कांग्रेसलाई जिताउनेछन्।’

नेकपाका उम्मेदवार प्रकाश राई स्वर्गीय मेयर तारा सुब्बाकै पालामा धरानको विकासको लागि दीर्घकालीन र अल्पकालिन योजना तयार भइसकेकोले आफूले त्यसलाई कार्यान्वयन गर्ने बताउँछन्। बसपार्कको डिपिआर तयार भइसकेकोले कार्यान्वयन गर्ने, खानेपानी आयोजनालाई पनि पूर्णता दिएर पानी वितरण गर्ने, सर्दु–खर्दु करिडोर निर्माण, औद्योगिक ग्राम निर्माण, फोहोर व्यवस्थापनबाट ग्याँस उत्पादनलगायत महत्वपुर्ण आयोजनाहरु कार्यान्वयन गर्ने उनको एजेण्डा छ। ‘स्थानीयतह लामो समय जनप्रतिनिधिविहीन थियो। २०७४ मा निर्वाचिन मेयर तारा सुब्बाको नेतृत्वमा थुप्रै योजनाहरु सुरु भएको थियो, तर असामयिक निधनले रोकिए,’ उनले भने, ‘ती योजनालाई पूर्णता दिनेछु।’ विपक्षीले उठाउदै आएको कर वृद्धिको विषयमा पनि उनले सार्वजनिक रूपमा नै विज्ञहरूसँग सल्लाह गरेर समायोजन गर्ने उद्घोष गरिसकेका छन्।

सुकुम्बासी र जातीय मत कता ?
धरानमा कुल ७४ वटा सुकुमबासी वस्ती छ। त्यहाँ १२ हजार २ सय ६६ घरधुरी छन् भने कुल ५६ हजार ८ सय हराहारीमा जनसंख्या छन्। ती मध्ये २४ हजारको संख्यामा मतदाता हुन्। विगतको निर्वाचनहरुमा कम्युनिष्ट पार्टीले जित हासिल गर्नुमा सुकुम्बासीको यही मत निर्णायक देखिदै आएको छ। मजदुर, गरिबहरुको पार्टी कम्युनिष्ट हो भन्ने छाप छ।

यसपालि नेपाली कांग्रेसले सुकुम्बासी वस्तीमा निरन्तर गतिविधि गरेबाट पनि यो वर्गको मत कति महŒवपूर्ण छ भन्ने अनुमान लगाउन सकिन्छ। विगतमा सुकुम्बासी वस्तीमा कांग्रेसको प्रभाव र संगठन न्युन थियो। यसपटक धरानको सुकुम्बासी बस्तीमा कांग्रेस छिर्ने प्रयास गरिरहेको छ। प्रभावशाली नेता तथा केन्द्रीय सदस्य शेखर कोइराला त २ दिनसम्म धरानमा रहँदा सुकुमबासी बस्तीमा मत माग्न पुगेका थिए।

नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव कुमार कार्की सुकुमबासी मतदातामध्ये २५ प्रतिशत मात्र प्रत्यक्ष राजनीतिक दलसँग जोडिएका छन्। बाँकी ७५ प्रतिशत मतदाता तथस्ट भएको उनी दाबी गर्छन्। ‘अहिले सर्भे गर्ने हो भने पनी ७५ प्रतिशत सुकुमबासी मत तथस्ट छ, त्यो नै निर्णायक हुन्छ,’ उनी भन्छन्, ‘अहिले नेकपा र कांग्रेसमा यिनै तथस्ट सुकुमबासी मत तान्ने होडबाजी छ।’

धरान आदिवासी जनजातिको बाहुल्य सहर हो। पहिचानको राजनीति गर्ने संगठनको केन्द्र पनि हो धरान। त्यसैले यहाँको चुनावमा जातीय समुदायको मतले पनि प्रभाव पार्ने आँकलन गरिन्छ। धरानमा राई जातिको सघन बसोबास छ। २०७४ को चुनावमा उम्मेदवार हुँदा कांग्रेस उम्मेदवार तिलक राई किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष थिए। त्यसैले उनलाई राई समुदायले भित्रभित्रै सघाएको थियो। तर, पनि उनले जित्न सकेनन्। यसपालि नेकपा र कांग्रेस दुवैबाट राई समुदायका उम्मेदवार भएकोले जातीय संस्थाहरुले कुनै एक उम्मेदवारलाई समर्थन गर्ने अवस्था छैन। राजनीतिक विश्लेषक डा.शर्मा धरानका मतदाताहरुमा वामपन्थी र प्रजातन्त्रवादी रुझान नै बढी भएकोले जातीय मतले परिणाम उल्टाउन नसक्ने बताउँछन्। ‘जातको प्रभावमा खस्ने मत नगन्य प्रतिशत मात्र हुन्छ, त्यसले परिणाम उल्टाउन सक्दैन,’डा. शर्मा भन्छन्।

किरान राई यायोक्खा सुनसरीका अध्यक्ष वलराम राईको विचार पनि डा. शर्माकै विश्लेषणसँग मेल खान्छ। अध्यक्ष राईका अनुसार यायोक्खाले कसलाई भोट हाल्ने भनेर संस्थागत निर्णय नगरी स्वविवेक प्रयोग गर्न दिइएको छ। उनी जात हेरेर भोट हाल्छन् भन्ने नभएको बताउँछन्। ‘जात हेरेर भोट दिने भए पहिला नै तिलक राईले र संघीय चुनावमा अशोक राईले जित्नुपर्ने थियो, त्यस्तो भएन। नगन्य मत मात्र त्यसरी जान्छ, अरु त राजनीतिक आस्थाकै आधारमा जान्छ,’ उनले भने।

प्रकाशित: १० मंसिर २०७६ ०१:३७ मंगलबार

बिरासत चुनावी रचारप्रसार