राजनीति

प्रेस स्वतन्त्रता हननविरुद्ध महासंघको प्रदर्शन

काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित सातै प्रदेशमा प्रदर्शन गरेको छ। ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा आइतबार महासंघले पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गरेको हो।

मुलुकमा पत्रकारको हत्या तथा प्रेस स्वतन्त्रता हनन्का घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने वातावरण अझै सृजना नभएको भन्दै महासंघले पत्रकारका हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिइएको घटना न्यून रहेको जनाएको छ। ‘कतिपय अवस्थामा पत्रकारको हत्या गर्ने व्यक्ति वा समुह पहिचान भइसक्दा पनि विभिन्न पक्षले हत्यारालाई संरक्षण दिने गरेकोले कानुनी दायरामा ल्याउन सकिएको छैन,’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्य पक्ष पनि पत्रकारको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउने र दण्डहीनताको अन्त्य गर्ने विषयामा गम्भीर भएको पाइदैन।जसले गर्दा पत्रकारको हत्या गर्ने वा प्रेस स्वतन्त्रता हनन्मा संलग्नले उन्मुक्ति पाइरहेका छन्।’

प्रकाशित: ९ मंसिर २०७६ ०२:१७ सोमबार

प्रेस_स्वतन्त्रता प्रदर्शन