राजनीति

नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच चुनावी कार्यगत एकता

एकता कार्यक्रम । तस्बिरः नागरिक

भक्तपुर– मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेश ‘क’ (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी संयुक्तबीच चुनावी कार्यगत एकता हुने भएको छ। आइतबार यहाँं पत्रकार सम्मेलन गरी दुबै पार्टीका जिल्लास्तरीय नेताहरुले दुई पार्टीबीच चुनावका लागि कार्यगत एकता घोषणा गरेका छन्।

क्षेत्रमा निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार स्वर्गीय हरिशरण लामिछाने निवार्चित भएका थिए। त्यसबेला लामिछानेले १२ हजार सात सय ८९ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका उम्मेदवार जीवन खत्रीले नौ हजार नौ सय ७७ मतका साथ निकटम प्रतिस्पर्धी भएका थिए।

गएको यही चुनावमा राप्रपा संयुक्त यस क्षेत्रमा उम्मेदवार थिएनन्। तर यही क्षेत्रमा भएको पछिल्लो स्थानीय चुनावमा भने उक्त पार्टीले उम्मेदवार थिए। त्यसबेला उसले करिब पाँंच हजार सात सय मत पाएको थियो।

चुनावमा पनि राप्रपा संयुक्तबाट अघि निर्वाचनमा विजयी भएका स्वर्गीय हरिशरण लामिछानेकै दाजुले उम्मेदवारी दिएका थिए। तर उनको नाम समानुपातिकका देखिएको भन्दै उम्मेदवारी खारेज भएको थियो ।
 
अहिले उपनिर्वाचनमा नेकपाबाट देवीप्रसाद ढकाल (डिपी) उम्मेदवार छन्। ढकाल यसअघिको यही क्षेत्रको निर्वाचनमा तत्कालिन माओवादीका उम्मेदवार थिए। उनले सात सय ८४ मत ल्याएका थिए। ढकाललाई उम्मेदवार बनाउँदा तत्कालिन एमाले (हालका नेकपा) कै कार्यकर्ताहरुबाट चर्काे विरोध गरेका थिए। विरोधको क्रममा नेकपाको जिल्ला पार्टी कार्यालय सूर्यविनायकमा तालाबन्दीसमेत भएको थियो।

कांग्रेस र राप्रपा संयुक्तबीचको कार्यएत एकतासँंगै यहाँंको चुनावी सरगर्मी अझ बढेको छ। नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा त्यस क्षेत्रका पार्टीका उम्मेदवार (हाल पनि उही) निरज लवजूले सात हजार ११ मत पाएर तेश्रो स्थान सुरक्षित गरेका थिए।

यो क्षेत्रको यस पटकको निर्वाचनमा विभिन्न पार्टीहरुबाट नौ जना र स्वतन्त्र १० जना गरी १९ जना चुनावी प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट देवीप्रसाद ढकाल (डीपी), कांग्रेसबाट कृष्णलाल भँंडेल र नेपाल मजदुर किसान पार्टीकोतर्फबाट निरज लवजूको चुनावी प्रतिस्पर्धामा छन्। साथै राष्टिय प्रजातन्त्र पार्टी (गाई) का जिल्ला सचिब श्याम नेपाल, समाजवादी पार्टीबाट सुदर्शन मुनंकर्मी र साझा पार्टीबाट सुरज प्रधानको उम्मेदवारी छ।


निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरले ५४ मतदान केन्द्र निर्धारण गरेको छ। चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको सो क्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ। सो क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेको र २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा सात सय ४८ महिला र सात सय ३६ पुरुष गरी कूल एक हजार चार सय ८४ मतदाता थपिएको जनाइएको छ। निर्वाचनका लागि भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ।

प्रकाशित: ८ मंसिर २०७६ १३:२३ आइतबार

उपनिर्वाचन कार्यगत_एकता