राजनीति

तामझामकासाथ उम्मेदवारले गरे मनोनयन दर्ता

खोटाङ– खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि चार उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। रिक्त वडाध्यक्ष चयनका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकातर्फबाट शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराएका हुन्।

खिदिमाबाट नारा जुलुस लगाउँदै उनीहरुले साकेला गाउँपालिकाको केन्द्रमा रहेको मात्तिम मानेभञ्ज्याङमा स्थापना गरिएको मूख्या निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत बैसाख ९ गते मृत्यु भएपछि उपनिर्वाचन मार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो। नेकपाका उम्मेदवार शिवकला उनै मणिकुमारकी श्रीमती हुन्। बुधबार क्रमशः कांग्रेस, समाजवादी, नेकपा र राप्रपाका उम्मेदवारले उल्लासका साथ मनोनयनपत्र दर्ता गराएका छन्।

मनोनयन दर्ता गर्ने क्रममा नेकपा, कांग्रेस, समाजवादी र राप्रपाका जिल्ला तहका नेताहरु मानेभञ्ज्याङ पुगेका छन्। नारा जुलुसका साथमा साकेला प्रदर्शन गर्दै उनीहरुले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गराएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि राजनैतिक दललाई चुनावी चटारो सुरु भएको छ।

कात्तिक २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, कात्तिक २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, सोही दिन मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, कात्तिक ३० गते उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका कार्यक्रम रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपनिर्वाचनमा खिदिमाका १ हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताइन्।

प्रकाशित: २७ कार्तिक २०७६ ०८:३३ बुधबार

उम्मेदवार मनोनयन दर्ता उपनिर्वाचन