राजनीति

६४ उम्मेदवारलाई चुनाव चिन्ह

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा भाग लिने उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ। आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा भाग लिने उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको हो।

आयोगबाट निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवार अब आफ्नो चुनावी प्रचारमा जुटेका छन्। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभाको उपनिर्वाचन हुने कास्की २ मा ११ राजनीतिक दलका र १० स्वतन्त्र गरी २१ जना उम्मेदवारले आफ्नो चुनावी चिह्न प्राप्त गरेका छन्। त्यसैग प्रदेशसभातर्फ उपनिर्वाचन हुने बागलुङ २ मा दलका ८ र स्वतन्त्र २ गरि १० जना, भक्तपुर १ मा दलका ९ र १० स्वतन्त्र गरि १९ जना र दाङ ३(२)मा दलका १२ र स्वतन्त्र २ गरी १४ जनालाई निर्वाचन चिह्न प्रदान गरिएको छ।

मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने बुधवार मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यक्रम रहेको छ। २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनपछि विभिन्न कारणले रिक्त भएका ५२ पदमा उपनिर्वाचन हुँदैछ। आयोगका अनुसार उपनिर्वाचनमा भाग लिने मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ रहेको छ।

प्रकाशित: २६ कार्तिक २०७६ ०१:४४ मंगलबार

उम्मेदवार चुनाव_चिन्ह