राजनीति

उपनिर्वाचन २०७६ : तयारी तीव्र

चितवन- आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ।

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ। मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त गरिनेछ।

चितवनमा भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। राजनीतिक दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छन्। उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ।

जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नम्बर ५ मा दुई हजार १११ मतदाता रहेका छन्। जिल्लाको निर्वाचन हेर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हेमन्त रावल खटिएका छन्।

सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो। रासस

प्रकाशित: २५ कार्तिक २०७६ ०७:५२ सोमबार

उपनिर्वाचन तयारी तीव्र