राजनीति

सीमा विवाद सुल्झाउन राष्ट्रिय सहमति आवश्यक : नारायणकाजी

पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी नेता नारायणकाजी श्रेष्ठसहितका नेता। तस्बिर : खगेन्द्र/नागरिक ।

ताप्लेजुङ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ‘प्रकाश’ले राष्ट्रिय सहमतिका आधारमा नेपाल–भारत सीमा विवाद सुल्झाउनुपर्ने बताएका छन्। उनले बर्तमान सरकार पनि सोहि प्रकृयाबाट विवाद समाधान गर्न उन्मुख रहेको भन्दै राष्ट्रिय मुद्दामा देशका सबै राजनीतिक शक्ति एक ठाउँमा हुनुपर्नेमा जोड दिए।

पार्टीका अगुवा कार्यकर्तालाई पार्टीका सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिने क्रममा शनिबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आई पुगेका नेता श्रेष्ठले प्रेश संगठन नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकार र नेकपा राष्ट्रियताको मुद्दामा प्रष्ट अडान र दृष्टीकोणका साथ अघि बढेको बताए। उनले नेपाली भूमी माथिको अतिक्रमण कुनै पनि हालतमा सैह्य नहुने भन्दै त्रुटी राष्ट्रियताको मुद्दामा देशका प्रमुख राजनीतिक दलहरु बिभाजित हुन नहुने बताए।

सरकारकातर्फबाट प्रधानमन्त्री आफैंले सीमा विवादबारे छलफल आवहन गरेको स्मरण गर्दै नेता श्रेष्ठले सरकारले परराष्ट्र मन्त्रालयमार्फत पनि विवाद समाधानको पहलकदमी लिएको बताए। ‘राष्ट्रियताको मुद्दा कुनै एक पार्टी र व्यक्ति बिशेषको नभई समग्र राष्ट्रको बन्न सकेमा मात्र मुख्य राष्ट्रिय मुद्दामा आम सहमति कायम हुन्छ’ उनको भनाई थियो।

संघीयता नेपालका लागि नौलो र बिशिष्ट प्रकृतिको राज्य सञ्चालन बिधि र संयन्त्र भएकोले त्यसको कार्यान्वयन भनेजस्तो सहज नहुने उनले प्रष्ट्याए। नया संविधान र नयाँ शासयिक संरचनालाई स्वरुप दिने कार्यमा अधिकांश समय कानून र नीति निर्माणमा केन्द्रित हुनु परेको स्मरण गर्दै सरकारले अबका समयमा जनतालाई परिवर्तन भएको महशुस हुनेगरी काम गर्ने उनको बिश्वास थियो।

सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने अभियान भएकोले त्यस कार्यमा लागि सरकारलाई चाहिने कानून र कार्यदिसा बनिसकेको स्मरण गर्दै नेता श्रेष्ठले अब सरकारले तीव्र गतिको आर्थिक विकासका एजेण्डा तय गर्ने बताए। पछिल्ला दिनहरुमा आर्थिक समृद्धिका किरणहरु देखिन थालेको भन्दै उनले लगानी बृद्धि र झण्डै ७ प्रशितको आर्थिक सूचाङ्क समृद्धिका आधारको रुपमा रहेको प्रष्ट्याए।

उनले पार्टी एकिकरण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै अब केहिदिन भित्रै सबै तहको एकिकरण प्रकृया टुङ्गििएर नेकपा देशको ठूलो र महत्वपूर्ण राजनीतिक शक्तिको रुपमा कायम रहने बताए। शनिबार, आईतबार र सोमबार सम्म चल्ने पार्टीका अगुवा कार्यकर्ता भेलामा पर्यटनमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराई, नेकपाको स्कुल बिभागका उपप्रमुखद्धय बेदुराम भुसाल र देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतले प्रशिक्षण दिने नेकपा ताप्लेजुङले जनाएको छ।

नेकपाका जिल्ला ईञ्चार्ज भाष्कर काफ्लेका अनुसार प्रशिक्षण कार्यक्रममा नेकपा ताप्लेजुङका अनुसार अगुवा कार्यकर्ता भेलामा वडा कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव, गाउँ तथा नगरपालिका कमिटीका मुख्य ४ पदाधिकारीसहित सचिवालय सदस्य, पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये वडाध्यक्षसम्म र जिल्ला कमिटीका कार्यालय टिम, सचिवालय सदस्य र जिल्ला कमिटी सदस्यसम्मका नेताहरु सहभागी छन्। नं प्रदेश कमिटी सह ईञ्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेश अध्यक्ष देवराज घिमिरे,केन्द्रीय सदस्य त्रय तिलकुमार मेन्याङ्वो, टंक आङ्बुहाङ र पासाङ शेर्पासहित प्रदेशसभमा यहाँबाट प्रतिनिधित्व गर्ने सांसद सहितको सहभागिता रहेको छ।
 

प्रकाशित: २३ कार्तिक २०७६ १०:४० शनिबार

सीमा_बिवाद राष्ट्रिय सहमति आवश्यक